आमादब्लमको शिखर छोपिने गरी कुवेती झण्डा
कुवेती आरोहण दलले सोलुखुम्बुस्थित आमादब्लम (६,८१२ मिटर) हिमालको शिखरमा निकै ठूलो झन्डा टाँगेर छाडेकाे छ ।
१५० केजी तौलको उक्त झण्डा १०० मिटर लम्बाइ र ३० मिटर चौडाइको भएको बताइएको छ ।
नेपाल पर्यटन बोर्डका एक अधिकारीका अनुसार, कुवेती नागरिक मिस्टर युसेहले शिखरमा झण्डा टाँगेका थिए ।
१२ सदस्यीय आरोहण दलले १९ कात्तिकमा पर्यटन विभागसँग स्वीकृति लिएको थियो ।
विभागकी पर्वतारोहण, होटल एवं अनुगमन विभागकी निर्देशक मीरा आचार्यले आरोहण दलले शिखरमा झण्डा ओछ्याउने अनुमति नलिएको बताएकी छन् । “टोलीले यो कार्यबारे हामी अनुसन्धान गरिरहेका छौं, गल्ती भेटिए कानूनअनुसार कार्वाही गरिनेछ”, आचार्यले भनिन् ।
पर्यटन बोर्डका अधिकारीका भनाइमा, शिखरमा अनुमति विना यस्ता क्रियाकलाप गर्नेलाई ५ वर्षसम्म नेपाल आउन प्रतिबन्ध, १० वर्षसम्म नेपालका हिमाल आरोहण अनुमति नदिने वा जरिवाना समेत गर्न सकिने प्रावधान रहेको बताउँछन् ।
पदयात्राका क्रममा सोलुखुम्बुको खुम्जुङमा रहेकी साहित्यकार मञ्जुश्री थापाले होटलबाटै देखिने आमादब्लमको शिखरमा केही वस्तुजस्तो देखेपछि तस्वीर खिचेकी थिइन् । त्यसपछि अंग्रेजी साप्ताहिक ‘नेपाली टाइम्स’ले यसबारे थप जानकारीसहित समाचार प्रकाशित गरेको थियो ।
शिखर नै छोप्नेगरी राखिएको यो कुवेती झण्डाबारे संसारभरका पर्वतारोहीले आपत्ति जनाएका छन् । यस्ता पर्वतारोही र व्यवस्थापन कम्पनीसमेतलाई कार्वाही गर्न माग पनि गरिएको छ।
चर्चित अमेरिकी पर्वतारोही एलन आर्नेटले आमादब्लामकै शिखर छोप्ने यस्तो कार्यलाई कुनै पनि अर्थमा सही भन्न नसकिने भन्दै संलग्न सबैलाई सजाय दिनुपर्ने बताएका छन् । कतिपयले सामाजिक सञ्जालमा झण्डा झुण्ड्याउनेलाई निकाल्न लगाउनुपर्ने सजाय उचित हुने तर्क पनि गरेका छन् ।
यो आरोहणका व्यवस्थापन नेपाली कम्पनी एलिट हिमालयन एडभेञ्चरले गरेको हो ।
फिल्म निर्माता एवं पर्वतारोहण दलकी एक सदस्य एलिया सैकलीले आफ्नो इन्स्टाग्राममा उक्त हिमाल आरोहण गरिसकेपछि लेखेकी छन्– विश्वको सबैभन्दा ठूलो झण्डा (१५० केजी, १०० मि. लम्बाइ ३० मि. चौडाइ) समुद्री सतहबाट ६,८१२ मिटर माथि झुण्डिएको थियो ।