आलमलाई थुनामा राख्न आदेश
जिल्ला अदालत रौतहटले मोहम्मद आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आठ दिन लामो थुनछेक बहस पछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा राख्न आदेश दिएको हो । गत शुक्रबार नै सरकारी वकिलको बहस सकिए पनि आलमको पक्षमा बहस गर्ने वकिलहरु धेरै भएकाले थुनछेक बहस लम्बिएको थियो ।
शनिबार र आइतबार सार्वजनिक विदा परे पछि सोमबारबाट आलम पक्षका वकिलहरुले बहस गरेका थिए । आलमका पक्षमा बरिष्ठ अधिबक्ताहरु रमण श्रेष्ठ, शेरबहादुर केसी सहित ३२ जनाले बहसका लागि नाम टिपाएर बहस गरेका थिए ।
फरहदवा नरसंहारको आरोपमा गत २६ असोजमा आलमलाई पक्राउ गरिएको थियो । २७ चैत २०६४ मा रौतहटको फरहदवामा बम बिस्फोटबाट घाइते आफ्नै कार्यकर्तालाई जिउँदै ईटाभट्टामा जलाएर मारेको आलमलाई अभियोग लागेको छ ।
१२ वर्ष अगाडि संविधानसभाको निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले बम बनाउँदै गर्दा बिस्फोट हुँदा आलमकै कार्यकर्ता घाइते भएका थिए । केहीको मृत्यु समेत भए पछि प्रमाण नष्ट गर्न प्रहरीको जिल्ला नेतृत्वकै संरक्षण घाइतेहरुलाई जिउँदै जलाएको आरोप आलमलाई लगाइएको छ ।
लामो समय कार्बाही प्रक्रिया अगाडि नबढाएको प्रहरीले यसपटक आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।
प्रहरी अनुसन्धानअनुसार, उक्त घटनामा आलम सहित उनका भाइ महम्मद अफताव आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सरोज, शेख फजलेहक, सगर आलम, जुमइन, गौरी शंकर साह, बद्री सहनी र मुक्ति साह घटनामा संलग्न देखिएका छन् ।
महीना दिन लामो अनुसन्धान पछि जिल्ला प्रहरीको सिफारिसमा सरकारी वकिलको कार्यालयले आलमलाई सस्वर्श सहित जन्मकैदको माग दावी गरिएको छ । तर, आलम पक्षका अधिवक्ताहरुले भने उक्त घटना नै नभएको जिकिर गरेका छन् ।