बालविकासका शिक्षकको पारिश्रमिक श्रम ऐन अनुसार हुने
मासिक रु ६ हजारमा पढाउँदै आएका बालविकासका शिक्षककाे पारिश्रमिक अब दाेब्बर हुने भएकाे छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१ कात्तिकमा जारी गरेको शिक्षा नीतिले उनीहरुको मासिक पारिश्रमिक श्रम ऐन अनुसार हुने भनेकाले अब उनीहरुले १३ हजार ४५० रुपैयाँ पाउनेछन् ।
बालविकास केन्द्रहरुमा अध्यापन गर्नेहरुको मासिक पारिश्रमिक एकैपटकमा अब दोब्बरभन्दा बढी हुने भएको हाे ।
शिक्षा नीतिमा भनिएको छ, “प्रारम्भिक बालकक्षा तथा बालविकास केन्द्रहरुमा अध्यापन गर्ने शिक्षक हुनका लागि माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) वा सो सरहको योग्यता हुनुपर्ने, हाल कार्यरतहरुलाई योग्यता हासिल गर्न अवसर प्रदान गरिने नीतिगत व्यवस्था भएको छ । प्रारम्भिक बालकक्षामा अध्यापन गर्ने शिक्षक र विद्यालय कर्मचारीहरुलाई श्रम ऐनले तोकेबमोजिमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नीति लिइएको छ।”
नीतिमा आएका कुरा कार्यान्वयनमा ल्याउन भने समय लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार पारिश्रमिककै रुपमा बढाउने हो भने मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ । तलब, सेवासुविधा भन्ने हो भने संघीय ऐन, नियमावली बन्नुपर्छ ।”
२०५७ सालदेखि शुरु भएको यो कार्यक्रम अन्तर्गत पढाउनेहरुले शुरुमा मासिक ५ सय रुपैयाँ पारिश्रमिक लिएर पढाउँदै आएका थिए । २०६३ सालमा बढाएर मासिक एक हजार पुर्याइएको थियो ।
जनज्योति बालविकास केन्द्र बागलुङकी शिक्षक कमला थापाले यसबारे औपचारिक जानकारी नभएको बताइन् । उनले भनिन्, “तलब बढ्यो रे भन्ने सुनेको हो तर आधिकारिक जानकारी प्राप्त भएको छैन, हाम्रो माग पारिश्रमिकसँगै आन्तरिक प्रतिस्पर्धा दरबन्दीमा लैजानुपर्छ भन्ने हो ।”
शिक्षा मन्त्रालयको शिक्षा विकास तथा मानव स्रोत केन्द्रको तथ्यांक अनुसार देशभरिमा करीब ३० हजार सामुदायिक बालविकास केन्द्रहरु रहेको र त्यसमा साढे ९ लाख बालबालिका छन् । प्रत्येक बालविकासमा एक शिक्षक हुने व्यवस्था छ ।