रुप ज्योति थुनामुक्त
ठगीको जाहेरीपछि प्रहरीले पक्राउ गरी हिरासतमा राखेका व्यवसायी रुप ज्योति थुनामुक्त भएका छन् ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई थुनामुक्त गर्न निर्देशन दिएपछि प्रहरीले शुक्रबार दिउँसो रिहा गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालयमा पठाउने निर्णय गरेको छ ।
विज्ञेन्द्रकृष्ण मल्लको ठगीको जाहेरीका आधारमा रुप ज्योति र उनकी छोरी सुरुचि ज्योति २१ कात्तिक राति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
१६ मंसीर, २०७५ मा मल्लले ज्योतिसहितका ११ जनाले उनको रु. १ करोड २६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा उजुरी दिएका थिए ।
त्यही उजुरीका आधारमा जिल्ला अदालतले ज्योतिलाई पक्राउ पुर्जी जारी गर्यो । तर, त्यसलगत्तै जिल्ला अदालतको उक्त पक्राउ पुर्जीविरुद्ध ज्योति सर्वोच्च अदालत पुगेर स्टे अर्डर लिएका थिए ।
तर, गत १८ कात्तिकमा सर्वोच्चले अन्तिम सुनुवाइ गर्दै करीब एक वर्ष पुरानो स्टे अर्डर खारेज गरेपछि प्रहरीले ज्योतिलाई विदेशबाट फर्कनासाथ पक्राउ गरेको थियो ।
मुद्दाका वादी मल्ल र ज्योति परिवारबीच कुरा मिलेर मुद्दा फिर्ता लिने सहमति भएको बताइएको छ । रुप ज्योतिको पक्राउ नियतवश भएको भन्दै व्यवसायीका विभिन्न संस्थाहरूले विरोध जनाएका थिए ।