फोनबाटै गर्भ परीक्षण गराउन निम्ता
दाङ्को धनौरी गाविसका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ ।
दाङको धनौरी गाविसका गर्भवती महिलाको चेक जाँच गराउने समय आएपछि 'तपाइँको गर्भ जाँच गर्ने दिन आयो, आउनुहोस्' भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए ।
गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गर्दछ- गर्भवती भएको चार महिना, छ महिना, आठ महिना, नौ महिना र सुत्केरी हुने मिति पुगेपछि ।
“सुरक्षित मातृ शिशु अभियानअन्तर्गत स्वास्थ्य चौकीले यो सेवा केही महिना पहिलेदेखि शुरु गरेको हो, यसले गर्दा पछिल्लो समयमा गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ” – रावतले भने ।
त्यसैगरी गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कदा उपहारस्वरुप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की पनि दिने गरेको छ ।
यतिमात्र होइन स्वास्थ्य चौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिने गरेको छ । उनीहरुलाई स्वास्थ्य संस्थामा बस्दा खाजाको समेत व्यवस्था गरेको छ ।
घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातै दिन घरमा नै पुगेर आमा र बच्चाको स्वास्थ्यकर्मीले चेकजाँच गर्ने व्यवस्था मिलाएको रावतले बताए ।
चेकजाँच गर्न जाने स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य चौकीले खाजाको व्यवस्थासमेत मिलाएको छ ।
रावतका अनुसार गर्भवती र सुत्केरी महिलाका लागि लाग्ने यो खर्चको व्यवस्थापन स्वास्थ्य चौकीले आन्तरिक रुपमा व्यवस्था गर्छ ।
“यो सेवाका लागि हामीलाई कतैबाट बजेट आउँदैन स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्सको आम्दानीको केही प्रतिशत र अन्य जनस्वास्थ्य र स्वास्थ्य चौकीको सहकार्यको खाताबाट सङ्कलन भएको रकमबाट गर्भवती र सुत्केरीका लागि खर्च व्यवस्थापन गरेका छौँ" – रावतले भने ।
योसँगै हाल स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
रासस