प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सहित ६ जनाले दिएको राजीनामा स्वीकृत भएको छ ।
बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्रीको सचिवालयका सवै कर्मचारीले राजीनामा दिएका थिए ।
राजिनामा दिएका मध्ये प्रेस सल्लाहकार कुन्दन अर्याल, विकास विज्ञ घनश्याम भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र स्वकीय अधिकृत उदय पोखरेलको राजीनामा स्वीकृत भएको हो ।
राजीनामा स्वीकृत गरिएका कर्मचारीहरुलाई अहिलेसम्म आधिकारीक जानकारी दिइएको छैन । “प्रधानमन्त्रीको सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीले राजिनामा दिएका हौं, हामीले पनि सञ्चार माध्यमबाट जानकारी पायौं, आधिकारिक जानकारी पाएका छैनौं”, सचिवालयमा कार्यरत एक सदस्यले भने ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी, स्वकीय सचिवमा राजेश बज्राचार्य, स्वकीय सहसचिवमा होम थापा, स्वकीय उपसचिवमा दिपेन्द्र दाहाल, रामशरण बजगाई र चेतन अधिकारी कार्यरत थिए । यी मध्ये अधिकारी प्रेस संयोजकको जिम्मेवारीमा थिए भने बजगाईले सामाजिक सञ्जाल हेर्ने जिम्मेवारी पाएका छन् ।
कृष्ण पौडेल र उदय पोखरेल पनि सञ्चार टीमकै सदस्यका रुपमा कार्यरत थिए । “हामी प्रेस सल्लाहकारको टीमका हौं, नयाँ सल्लाहकार आउने भएपछि सवैलाई विदा दिइएको होला”, प्रेस सल्लाहकारको टीममा कार्यरत एक सदस्यले हिमालसँग भने ।
अस्गर अलि सहित अर्को टीम प्रधानमन्त्रीको अवैतानिक सल्लाहकारको रुपमा रहेको छ । यो टीमले आइटी हेर्ने जिम्मेवारी पाएको छ ।
राजीनामा बुझाएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामला सल्लाहकार राजन भट्टराईको भने राजीनामा स्वीकृत नभएको जनाइएको छ ।