रिपोर्ट शुक्रबार, कात्तिक २९, २०७६

सकारात्मक संरक्षण, बेपरवाह व्यवस्थापन

हिमालखबर

–भावुक याेगी

संरक्षण अभियानसँगै बढेको सचेतताले दुर्लभ वन्यजन्तुको संख्या बढेको छ। तर यसको उचित व्यवस्थापन नहुँदा मानव बस्तीमा पहिले भन्दा बढी जोखिम थपिएको छ।

१७ साउन २०७१ मा विद्युतीय पासोमा परेर मरेको हात्ती ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पालेको हात्ती चराउन गएका माहुते मुङ्ग्रु थारूको बाघको आक्रमणबाट १९ कात्तिकमा मृत्यु भयो । घाँस काट्न हात्तीबाट उत्रिएको वेला उनलाई गैंडा हेर्ने मचानछेउ बाघले आक्रमण गरेको थियो ।

निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट ५ भदौमा गेरुवा गाउँपालिका–४ दङ्गपुरकी ५६ वर्षीया रामकली शाहीको मृत्यु भयो । त्यसको चार दिनपछि ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँमा ७० वर्षीय पहरिया थारूको मृत्यु भयो ।

असोज दोस्रो साता बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा बाघकै आक्रमणबाट ४० वर्षीया गङ्गा सलामी मगरको ज्यान गयो ।

मगरलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लियो । अन्दाजी १५ वर्षको पोथी बाघलाई प्राविधिक टोलीले डार्टगन (लठ्याउने सुई) मार्फत बेहोश बनाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको भोलिपल्टै उपचारका क्रममा बाघ मरेको थियो । बाघ वृद्ध र अशक्त भई शिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाहिर आएर मान्छेलाई आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढेको छ । बाघ, हात्ती, चितुवा, बँदेल, नीलगाई लगायत जनावरले हरेक वर्ष धनजनको क्षति गर्छन् । पछिल्लो समय जङ्गली हात्ती र पाटेबाघको आक्रमण बढेको छ ।

२०५६ सालयता जङ्गली जनावरको आक्रमणबाट ५० जनाभन्दा बढीको ज्यान गइसकेको छ । बाघको आक्रमणबाट यो वर्ष आठ महीनामै ६ जनाको मृत्यु भएको छ । २०५८ र २०५९ सालमा बाघको आक्रमणबाट चार जनाको मृत्यु भएको थियो ।

निकुञ्जका अनुसार जङ्गली हात्तीबाट मात्र २०५६ सालयता ३७ जनाले ज्यान गुमाएका छन् । गएको भदौ दोस्रो साता निकुञ्जबाट बाटो बिराएर गाउँ पसेको गैंडाको आक्रमणबाट बारबर्दिया नगरपालिकाको कुसुम्बाघाट झाेलुङ्गे पुलनजिक तीन जना घाइते भए । चितुवा र बँदेलको आक्रमणबाट २०५६ सालयता चार जनाको मृत्यु भएको छ ।

निकुञ्जमा झण्डै १०० वटा जङ्गली हात्ती, ३७ एकसिङ्गे गैंडा र ८७ वयस्क पाटेबाघ छन् । निकुञ्जमा सन् २००० मा ४३ वटा वयस्क पाटेबाघ थिए भने सन् २००८ मा गणना गर्दा १८ वटा मात्र पाटेबाघ भेटिए ।

१० वर्षअघि निकुञ्ज आसपासका क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएपछि स्थानीय पनि संरक्षणमा जुटे । सन् २०११ मा बाघको संख्या बढेर ३७ पुग्यो । सन् २०१३ मा ५० वटा वयस्क पाटेबाघ भेटिए ।

सन् २०१८ को गणना अनुसार बर्दियामा ८७ र बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा वयस्क पाटेबाघ छन् । नेपालमा पाटेबाघको संख्या कुल २३५ पुगेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले गत वर्षको वार्डेन सेमिनारमा भनेका थिए, “बर्दियामा पाटेबाघको संख्या बढेकोमा हामी सबैलाई बधाई छ । तर, मक्ख नपरौं, चुनौती पनि बढेको छ । बाघ बचाऊँ, बाघबाट मानिस पनि बचाऊँ ।” बाघ बढ्दा मान्छेलाई पनि जोखिम बढिरहेको सङ्केत गरेका थिए ।

बढ्दो द्वन्द्व

बाघ बढेसँगै संरक्षणको चुनौती पनि थपिएको छ । चोरीशिकारी र बर्दिया निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग भएर गुड्ने यातायातका साधनबाट खतरा बढेको छ ।

७ पुस २०७३ मा पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मृत्यु भएको पाटेबाघ ।

दुई वर्षअघि पुसमा बसको ठक्करबाट वयस्क बाघ मरेको थियो । गएको पुसमा पनि जीपको ठक्करबाट वयस्क बाघ गम्भीर घाइते भयो । मेरुदण्ड र एउटा खुट्टा भाँचिएको बाघको निकुञ्जमा अझै उपचार चलिरहेको छ ।

पुस र माघमा हुस्सु लाग्ने भएकाले सवारी साधनले ठक्कर दिने संभावना धेरै हुन्छ ।

बाघ आहाराको खोजीमा मानव बस्ती पस्दा मान्छेसँग ‘द्वन्द्व’ बढ्ने गरेको छ । बूढा बाघ निकुञ्ज छेउछाउ मानव बस्तीमा आउँछन् ।

प्राकृतिक वासस्थानमा रहेका बाघको सरदर आयु भने १६ वर्ष मात्रै हो । वृद्ध र अशक्त बाघको चोरीशिकारी हुने खतरा बढी हुन्छ ।

९६८ वर्ग किलोमिटरमा फैलिएको बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने बबई उपत्यकामा ठूलो मानव बस्ती थियो । झण्डै ४० वर्षअघि बस्ती स्थानान्तरण गरेर सरकारले निकुञ्ज विस्तार गर्‍यो ।

चितवन निकुञ्जबाट गैंडा ल्याएर बबई उपत्यकामा छाडियो । १० वर्षे द्वन्द्वका वेला सुरक्षा निकायको प्रभावकारी गस्ती नहुँदा बबईमा एकसिङ्गे गैंडा र पाटेबाघको संख्या घटेको थियो ।

हात्ती भने मान्छेले थाप्ने धरापबाट जोखिममा छन् । पाँच वर्षअघि मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–२ बलाती गाउँका स्थानीयले हात्ती धपाउन खेतमा विद्युतीय पासो थाप्दा एउटा वयस्क भाले हात्ती मरेको थियो ।

झण्डै सात वर्षअघि राजापुर क्षेत्रको भिम्मापुरमा पनि हात्ती धपाउन खेतमा विद्युत् प्रवाह गर्दा एउटा हात्तीको मृत्यु हुन पुगेको थियो ।

यस्तो पासोमा परेर मान्छेकै पनि मृत्यु हुने गरेको छ । आठ वर्षअघि हात्तीबाट घरगोठ र बाली जोगाउन स्थानीयले लगाएको विद्युतीय पासोमा परी डुम्रेनी र मढेलामा दुई जनाको ज्यान गएको थियो ।

वर्षभरि खानुपर्ने अन्न जङ्गली जनावरका कारण एकै दिन सखाप पारिदिन थालेपछि प्रतिशोधको भावनाले मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको निकुञ्जका निवर्तमान प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाको भनाइ छ ।

“बर्दियामा पाटेबाघको संख्या बढेकोमा हामी सबैलाई बधाई छ । तर, मक्ख नपरौं, चुनौती पनि बढेको छ । बाघ बचाऊँ, बाघबाट मानिस पनि बचाऊँ ।”

उनी वन्यजन्तुलाई बाहिर आउनबाट रोक्न दिगो व्यवस्थापनको खाँचो औंल्याउँछन् ।

निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतका अति विकट साविकका चार गाविसमा बसोबास गर्ने समुदायले चोरीशिकारबाटै जीवन निर्वाह गर्थे ।

निकुञ्जले सचेतना कार्यक्रम सहित मध्यवर्ती क्षेत्र बनाएपछि स्थानीयले चोरीशिकारी छाडे । आफूहरूसँग भएका २५५ वटा भरुवा बन्दूक सरकारलाई बुझाए । तर, अहिले वन्यजन्तु बढेसँगै बाहिर निस्किएर मान्छेलाई आक्रमण गर्ने र अन्नबाली सखाप पार्न थालेपछि स्थानीय पीडित बनेका छन् ।

मध्यवर्ती क्षेत्रमा मानिस र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न प्रयास भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन् ।

“मानिस र वन्यजन्तुलाई आ–आफ्नै क्षेत्रमा मात्रै सीमित राख्न सकेमा यो समस्या कम हुनसक्छ तर, मध्यवर्ती क्षेत्रमा मानव बस्ती धेरै छ, जङ्गल नजिकका गाउँमा जनावर आवतजावत गर्ने क्षेत्र भएकाले द्वन्द्व बढ्छ”, उनी भन्छन् ।

संरक्षणसँगै चुनौती

वन्यजन्तु संरक्षणको अभियानसँगै जनावरको संख्यामा पनि वृद्धि हुँदैछ । क्षेत्रफल नबढ्ने तर, वर्षेनि जङ्गली जनावरको संख्या बढ्ने कारण वासस्थान र खानेकुराको अभाव हुन्छ । वासस्थान र खानेकुरा खोज्दै जङ्गली जनावर बस्ती पस्छन् ।

एकातिर मान्छेको वनमाथिको अतिक्रमणले वन्यजन्तु जोखिममा छन् । अर्कातिर बस्ती पसेर वन्यजन्तुले आक्रमण गर्दा मान्छे पीडित छन् ।

वन्यजन्तुबाट भएको नोक्सानीको सरकारले उचित क्षतिपूर्ति नदिंदा द्वन्द्व बढ्दै गएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्य बताउँछन् । उनी भन्छन्, “जङ्गली जनावरबाट क्षति भए राहत होइन, तत्कालै पर्याप्त क्षतिपूर्ति दिनुपर्छ ।”

जङ्गली जनावरबाट पीडित बनेकाहरूले आफूहरूसँग क्षतिपूर्ति मिलाइदिन आग्रह गर्ने गरेको चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल ठाकुरद्वाराका अध्यक्ष हेमन्त आचार्य बताउँछन् । “खाली पेटमा के को संरक्षण ? भन्ने स्थानीयको संख्या बढ्दै जाँदा समस्या हुन थालेको छ”, आचार्य भन्छन् ।

वन्यजन्तुबाट ज्यान गुमाउनेको परिवारले अहिले १० लाख राहत पाउँछन् । दुई वर्षअघि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गतका उपभोक्ता समिति र निकुञ्जको पहलमा १० लाख रुपैयाँ दिने निर्णय भएको हो ।

 

प्रतिकृया दिनुहोस