अर्थ/बजार विहीबार, कात्तिक २८, २०७६

बजेटले लक्ष्य राखेको आर्थिक वृद्धि हासिल नहुने

हिमालखबर

चालु आर्थिक वर्ष २०७६\७७ को बजेटमार्फत सरकारले राखेको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने सरकारले प्रक्षेपण गरेको छ ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक विश्लेषणले चालु आर्थिक वर्षमा ७ दशमलव ०१ प्रतिशत मात्र आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको आर्थिक क्रियाकलापको आधारमा अर्थ मन्त्रालयले लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल नहुने आकलनसहित लक्ष्य संशोधन गरेको हो ।

विकास लक्षित पूँजीगत खर्चको सुस्तताका कारण तथा धान उत्पादनको गिरावटका कारण आर्थिक वृद्धिमा प्रभाव पारेको आकलन गरिएको छ । पहिलो त्रैमास सकिदा विनियोजित पूँजीगत रकमको ४ दशमलव ५ प्रतिशत मात्र खर्च भएको छ ।

यो वर्ष सरकारले रु. ४ खर्ब ८ अर्ब पूँजीगत रकम विनियोजन गरेकोमा असोज मसान्तसम्ममा रु. १८ अर्ब ४५ करोड मात्र खर्च भएको छ ।

त्यस्तै, यो वर्ष प्रमुख कृषि बाली धानको उत्पादनमा करीब १० प्रतिशतले गिरावट आउने आकलन गरिएको छ । धान रोप्ने समयमा पानी नपरेको, फौजी किराको आक्रमण एवं नफल्ने जातको बीउका कारण यो वर्ष धानको उत्पादन घट्ने आकलन गरिएको हो ।

करीब १० प्रतिशत धान उत्पादन घटबढ हुँदा आर्थिक वृद्धिमा १ प्रतिशतले असर पर्ने अनुमान गरिन्छ । गत आर्थिक वर्ष २०७५÷७६ मा अहिलेसम्मकै धेरै ६५ लाख १० हजार मेट्रिक टन धान फलेको थियो ।

त्यस्तै, विगत वर्षहरूमा तीव्र बनेको भूकम्पपछिको पुनर्निर्माणको काम सकिन लागेको र जसका कारण निर्माणजन्य सामग्रीको उपयोगमा कमी आएकाले पनि आर्थिक वृद्धि खुम्चने आकलन गरिएको छ ।

यद्यपि, संशोधित आर्थिक वृद्धि दर हासिल भएमा पनि निराश भइहाल्नुपर्ने अवस्था छैन । विगत तीन आर्थिक वर्षमा लगातार ६ दशमलव ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल भएको थियो । लगातार तीन वर्ष यो दरको आर्थिक वृद्धिदर हासिल भएको इतिहासमैं पहिलो पटक हो ।

 

प्रतिकृया दिनुहोस