समाचार विहीबार, कात्तिक २८, २०७६

प्रमाण जुटाएर वार्ता गर : नेता पौडेल

हिमालखबर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवाद भएका ठाउँको दशी प्रमाण अघि सारेर समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन झापाको आयोजनामा २८ कात्तिकमा बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वार्ताबाट समाधान नभए दोस्रो चरणमा मात्रै सीमा विवादको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिए ।

“छिमेकीको हेपाहा प्रवृत्ति र सीमा सुरक्षामा नेपालको लापरबाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ”, नेपा प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने, “अहिले दुई तिहाइको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रको दशी प्रमाण जुटाएर वार्ता गरोस् ।”

सीमा विवाद टुंग्याउन सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल कांग्रेस तयार रहेको बताउँदै उनले सचिवस्तरको बैठकबाट मात्र सीमा विवाद नटुंगिने धारणा राखे ।

प्रतिकृया दिनुहोस