‘चिकित्सकको व्यवसायिक आचारण सुध्रिएन’
नेपाल मेडिकल काउन्सिलले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले चिकित्सकले व्यवसायिक आचारण सुधार्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले डाक्टरहरुको आचार–व्यवहार सुध्रिन नसकेको बताए ।
काउन्सिलले डाक्टरहरुको व्यवसायिक आचारण सुधार्न बनाएको ‘कोड अफ इथिक्स’लाई परिमार्जन गर्न आयोजना गरेको कार्यशालामा बोल्दै डा. बास्कोटाले भने, “डाक्टरहरुले बिरामी जाँच्ने क्रममा लापरवाहीको सीमा नाघ्न थालेकाले परिमार्जन गरी कारवाही अघि बढाउन थालिएको हो ।”
पुरानो ‘कोड अफ इथिक्स’ मा डाक्टरले आचारसंहिता उल्लङ्घन गरे कसले कस्तो कारवाही गर्ने भन्नेबारे स्पष्ट व्यवस्था नभएकाले परिमार्जन गर्न लागिएको काउन्सिलको इथिकल कमिटि संयोजक डा. शतिसकुमार देव बताउँछन् ।
डा. देवले डाक्टरले आचारसंहिता उल्लघंन गरेकाले विरामीको स्वास्थ्य जोखिममा परेको भन्दै अनुसन्धानका लागि सबै पक्षको समन्वय आवश्यक भएको बताए ।
विश्व स्वास्थ्य संघठनका नेपाल प्रतिनिधि डा. जोश भेन्डिलियरले डाक्टरहरुले लेख्ने अक्षर, बिरामीलाई सिफारिस गर्ने औषधि र बिरामीसँग गरिने व्यवहारहरु आचारसंहिता अन्तर्गत पर्ने भएकाले यस्ता सबै कुरामा प्राथमिकता दिनुपर्ने बताए ।
जोशले भने, “डाक्टरहरुले के साँच्चै बिरामीको फाईदाको लागि काम गरिरहेका छन्, कि आफ्नो व्यक्तिगत फाईदाका लागि ?” उनले काउन्सिलले यसतर्फ ध्यान दिएर आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए ।
पछिल्लो समय नियामक निकाय मेडिकल काउन्सिल प्रभावकारी नहुँदा अस्पतालहरुमा लापरवाहीका घटना वृद्धि भएका छन् भने त्यस्ता घटनामाथि आवश्यक अनुसन्धान हुन सकेको छैन ।
काउन्सिल ऐन, २०२० र ‘कोड अफ इथिक्स’ मा अस्पतालहरुमा चिकित्सकले आचारसंहिता उल्लंघन गरे कसरी अनुसन्धान गर्ने भनेर स्पष्ट व्यवस्था छैन ।
रामु सापकोटा