१५ वर्षीया बालिकालाई युवती बनाउन सुई र औषधि प्रयोग
१५ वर्षीया नेपाली बालिकालाई भारतमा लगेर बेचबिखन गर्ने क्रममा युवती बनाउन सुई र अन्य औषधि प्रयोग गर्ने गरेको खुलेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले २७ कात्तिकमा उक्त घटनाबारे विवरण सार्वजनिक गर्दै नेपाली बालिकाहरुलाई भारतका विभिन्न स्थानमा लगेर बिक्री गर्ने क्रममा सुई र अन्य औषधिहरु प्रयोग गरेर युवती बनाउने गरिएको खुल्न आएको हो ।
बेचबिखनको काममा संलग्न भएको अभियोगमा ब्यूरोले नुवाकोट सुर्यगढी–६ का कान्छिमाया तामाङ भनिने कृष्णमाया लामालाई पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार लामाले २०७६ माघमा आफ्नै नातेदार पर्ने तर कमजोर आर्थिक अवस्था भएकी १५ वर्षे बालिकालाई दिल्ली पुर्याएर बेचबिखन गरेकी थिइन् ।
उनले गाउँमा काम लगाउने भन्दै काठमाडौंको एक होटलमा काम गरिरहेकी ती बालिकालाई त्यहाँबाट छुटाइन् । उनलाई घर जाने भनेर बसमा चढाएर वान्ता नहुने औषधि भन्दै लामाले पटक–पटक लठ्याउने औषधि खुवाएर बेहोस् बनाइन् ।
उनले ती बालिकालाई बेहोस बनाएपछि दलालले भारतको मधुन भन्ने ठाउँमा पु¥याए । त्यहाँ पुगेपछि उनको होस् आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनलाई दलालले रु. १० हजार भारतीय रुपैँयामा मधुनमा कोठी सञ्चालन गरि बसेका लक्ष्मी र हेमालाई बुझाएका थिए ।
ती बालिकालाई कोठी सञ्चालकले युवती बनाउन एक महिनासम्म कोठामा बन्धक बनाएर सुई र औषधि प्रयोग गरेका थिए ।
एक महिनापछि उनलाई भारतको नयाँ दिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष, कोठी नं. नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखेर यौन धन्दामा लगाइएको खुलेको छ ।
त्यसै क्रममा एक नेपाली ग्राहकलाई ती बालिकालाई आफ्नो समस्या राखेपछि उनलाई त्यहाँबाट निकालेर माइती नेपालको नेपालगञ्ज शाखा कार्यालयबाट उद्धार गरियो ।
अहिले २१ वर्ष पुगेकी उनले उद्धारपछि प्रहरीलाई जाहेरी दिएपछि बेचबिखनमा संलग्न कृष्णमाया लामा पक्राउ परेकी हुन् । ब्यूरोका अनुसार फरार अभियुक्त नुवाकोट–६ का ४२ वर्षीया शेरबहादुर लामाको खोजी भइरहेको छ ।