खेलकुद बुधबार, कात्तिक २७, २०७६

नेपाल यू–१९ ‘ए’ दोस्रो खेलमा पनि पराजित

हिमालखबर

भारतमा यू–१९ वान डे च्यालेन्जर ट्रफी खेल्न गएको नेपाल यू–१९ ‘ए’ टिम लगातार दुई खेलमा पराजित भएको छ । भारत यू–१९ ‘ए’ सँगको दास्रो खेलमा नेपाली टोली १०७ रनले पराजित भएको छ ।

२४८ रनको लक्ष पछ्याएको नेपाल १४० रनमै समेटियो । सुरुदेखि विकेट गुमाउन थालेको नेपाल कुनै पनि समय सम्हालिन सकेन ।

नेपालले पहिलो ओभरबाटै विकेट गुमाउन थालेको थियो । ६ रन बनाउँदा नेपालले दुवै ओपनरलाई गुमाएको थियो । २ बलमा ५ रन बनाएका कप्तान रित गौतम रन आउट भएका थिए ।

लगत्तै अर्का ओपनर लोकेश बम शून्य रनमा एलबिडब्लु आउट भए । बमसहित कुशल मल्ल र हरिबहादुर चौहान ‘डक आउट’ भएका थिए ।

तेस्रो नम्बरमा आएका विशालविक्रम केसीले एउटा ‘एण्ड’ सम्हाले पनि अर्को विकेटबाट लगातार विकेट झरेको थियो । नेपालका लागि केसीले अर्धशतक बनाए । उनले १२६ बलमा ७१ रन बनाउँदा ११ चौका प्रहार गरे ।

नेपालका लागि पुछारका ब्याट्स्म्यान शेर मल्लले २१ र आकाश चन्दले १९ रन बनाए । केसी, मल्ल र चन्दबाहेक अन्य ब्याट्स्म्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतीय टोलीले ४८.२ ओभरमा अलआउट हुँदा २४७ रन बनाएको थियो । उसका लागि कप्तान धुर्ब जुरेलले ७४, साइ सुदर्शनले ३४ र यशस्वी जैसवालले ३३ रन बनाएका थिए ।

नेपाली टोलीका लागि शेर मल्लले ३ र आकाश चन्दले २ रन बनाए । त्यस्तै प्रतिश जिसी र हरिबहादुर चौहानले पनि एक एक विकेट लिए ।

यसअघि नेपाल गत सामेबार भएको खेलमा भारत यू–१९ ‘सी’ सँग १० विकेटले पराजित भएको थियो । अब नेपालले भारत यू–१९ ‘बी’ सँग अन्तिम खेल खेल्नेछ ।

 

 

प्रतिकृया दिनुहोस