समाचार बुधबार, कात्तिक २७, २०७६

कालापानी अतिक्रमणबारे सर्वोच्चमा रिट

हिमालखबर

सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भूभाग भारतबाट अतिक्रमण नरोकिएकाले कूटनीतिक पहलमार्फत समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालय लगायतलाई विपक्षी बनाई अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दिएका हुन् ।

उनले भारतबाट अतिक्रमित नेपालका जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ ।

रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्न भएको व्यवस्थाअनुसार सुरक्षा गर्न माग गरिएको छ ।

रिट निवेदनमा सीमामा अतिक्रमित भूमिका बारेमा राज्य मौन बस्दा सर्वसाधारण जनतालाई असर परिरहेको हुँदा स्वतन्त्रतापूर्वक सार्वभौमसत्ता सम्पन्न भई बाँच्न पाउनु समस्त नेपालीको अधिकार भएको र सोका लागि कार्य गर्नु सरकार र राज्यको दायित्व भएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस