चुरियामा कार्यक्रमका लागि नेपालले पायो ४ अर्ब
नेपालको चुरिया क्षेत्रमा जलवायु जन्य जोखिम न्यूनिकणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न नेपालले ३९.३ मिलियन अमेरिकी डलर अर्थात् करिव रु. ४ अर्ब प्राप्त गरेको छ ।
जलवायु जन्य प्रकोपका कारण अत्यन्त संवेदनशील मानिएको चुरे क्षेत्रमा बसोबास गर्ने समुदायको जीविकोपार्जन, क्षमता अभिबृद्धि, जैविक विविधता संरक्षण, भू–क्षय नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न हरित जलवायू कोष (जिसिएफ) को बोर्ड वैठकले नेपालका तर्फबाट पेश भएको प्रस्ताव स्वीकृत गर्दै उक्त रकम दिने निर्णय गरेको हो ।
जिसिएफको बोर्ड बैठक दक्षिण कोरियामा चलिरहेको छ । नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन एफएओले प्रस्ताव पेश गरेको थियो । नेपालका तर्फबाट पेश गरिएको प्रस्ताव जिसिएफको बोर्ड बैठकले स्वीकृत गरेको छ ।
एफएओले वन तथा वातावरण मन्त्रालय मार्फत् चुरे क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने छ । एफएओ र जिसिएफ, जिसिएफ र नेपाल सरकारबीच सम्झैता भएपछि कार्यक्रम कार्वान्यन हुने वैठकमा सहभागी जिसिएफका सल्लाहकार राजु पण्डित क्षेत्रीले जानकारी दिए ।
“नेपालले पैसा पाउनु मात्र ठूलो कुरा होइन, जोखिममा परेका समुदायको उत्थान गर्नु ठूलो कुरा हो,” उनले भने “नेपाललाई प्राप्त पैसा लक्षित समुदायसम्म पुगेर त्यसको सही सदुपयोग हुनुपर्दछ ।”