कालापानी समस्या प्रधानमन्त्रीको परीक्षाः नेता पौडेल
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी अतिक्रमण विरुद्ध लड्न प्रतिपक्षको समेत साथ रहेकाले दुई तिहाइ सरकार यसपटक चुक्न नहुने बताएका छन् ।
बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कालापानी लगायत सीमा समस्या समाधान गर्ने सवैभन्दा उपयुक्त समय भएको बताए । उनले भने, “प्रधानमन्त्री गफ मात्रै दिन्छन् कि काम पनि गर्छन् भन्ने यस पटक देखिन्छ ।”
बरिष्ठ नेता पौडेलले कुटनैतिक पहल गरेर सीमा विवाद समाधान गर्नुपर्ने बताए । उनले उत्तरतिर पनि सीमा समस्या रहेको बताए ।
“देशको सीमा सुरक्षाका लागि हामी एक छौं । समाधानको यो उपयुक्त समय हो”, उनले भने ।
उनले कांग्रेस अब नयाँ शिराबाट चल्नुपर्ने बताए । महाधिवेशन कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने नेता पौडेलले बताए ।