बोलिभियाका वाम राष्ट्रपति मोरालेस मेक्सिकोको शरणमा
बोलिभियाका अपदस्थ वामपन्थी राष्ट्रपति इभो मोरालेस राजनीतिक शरणका लागि मेक्सिको पुगेका छन् । गत २० अक्टोबरमा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली गरेको भन्दै विपक्षीले प्रदर्शन चर्काएपछि त्यहाँको सेना प्रमुखकाे निर्देशनमा मोरालेसले गत आइतबार राजीनामा दिएका थिए ।
मोरालेस मंगलबार मेक्सिको सिटी पुगेका हुन् । उनले आफ्नो जीवन खतरामा परेको भन्दै शरण मागेको मेक्सिकोले जनाएको छ ।
उनलाई लिन मेक्सिकन एयर फोर्सको जहाज बोलिभियाको दोस्रो ठूलो शहर कोकाबाम्बा उत्रिएको थियो । त्यहाँबाट तेल भर्न पेरु पुगेको जहाजलाई पेरु सरकारले फेरि बोलिभिया फर्कने अनुमति दिएको थिएन । त्यहाँबाट पाराग्वे हुँदै मोरालेस मेक्सिको उत्रिएका हुन् ।
मेक्सिको सिटीमा संक्षिप्त पत्रकार सम्मलेन गर्दै मोरालेसले आफ्नो जीवन रक्षा गरिदिएकोमा मेक्सिकन राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरलाई धन्यवाद दिएका थिए । उनले आफ्नो जीवन बाँकी हुँदासम्म विभेद र अपमानविरुद्ध लड्ने पनि बताए ।
मोरालेसले आफूलाई राजीनामा दिन बाध्य पारिएको र रक्तपात हुन नदिन आफूले त्यसो गरेको बताए । उनले आफ्नो टाउकाको मूल्य ५० हजार डलर तोकिएको पनि दाबी गरे । उनले आफ्नो बहिर्गमनलाई ‘कू’ भएको बताएका छन् ।
मोरालेस पहिलोपटक सन् २००६ मा राष्ट्रपति निर्वाचित भएका थिए । किसान परिवारका उनी बोलिभियाको पहिलो आदिवासी राष्ट्रपति हुन् ।
मंगलबार त्यहाँको संसदमा विपक्षी पार्टीकी नेतृ जेनी एनेजले आफूले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन् । तर, संसदमा मोरालेसको मोभमेन्ट फर सोसियालिजम पार्टीका सदस्यको उपस्थिति थिएन । संसदमा गणपूरक संख्या नभएकाले उनको घोषणाले वैधानिकता नपाउने सांसदहरुले बताएका छन् ।