शिष्टाचार भेटवार्ता पछि बांग्लादेशी राष्ट्रपति पोखरा जाने (भ्रमण तालिका सहित)
चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका बांग्लादेशका राष्ट्रपति अब्दुल हमिद शिष्टाचार भेटवार्ता सकेर पोखरा जाने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदले बुधबारबाट शिष्टाचार भेटवार्ता शुरु गर्नेछन् ।
राष्ट्रपति भण्डारीसँग समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी तथा उनले नेतृत्व गरेकोे प्रतिनिधिमण्डलको सम्मानमा बुधबार साँझ रात्रिभोजको आयोजना गरेकी छन् ।
बुधबार नै बांग्लादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।
राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् ।
नेपाल बसाइका बेला बांग्लादेशी राष्ट्रपति हमिदको टोलीले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरी र पोखराको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
मंगलबार दिउँसो काठमाडौं आइपुगेका हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन् ।