आलम थुनछेक बहसको तेस्रो दिनः अदालत परिसरमा कांग्रेस कार्यकर्ताको भीड
फरहदवा नरसंहार अभियोगमा पक्राउ परेका मोहम्मद आफताव आलमको थुनछेक बहस मंगलबार पनि हुँदैछ । शुक्रबार वादी पक्षका अधिवक्ताहरुले बहस गरे पछि सोमबार र मंगलबार (आज) आलम पक्षका अधिवक्ताहरुले बहस गर्दैछन् ।
सोमबार आलम पक्षका चार अधिवक्ताले बहस गरेपछि हेर्दाहेर्दैमा बहस स्थगित भएको थियो । आलम पक्षबाट बहस गर्दै अधिवक्ता शेरबहादुर केसी लगायतले बिना प्रमाण फसाउने षडयन्त्र मात्रै भएको तर्क गरेका थिए ।
अदालतमा आलम पक्षकै अधिवक्ताहरुले बहस गरिरहदा गौरमा नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले मौन जुलुस प्रदर्शन गरेका थिए । कांग्रेस महाधिवेशन प्रतिनिधि मुकेश गिरीले आलमको निसर्त रिहाइको माग सहित प्रदर्शन गरिएको बताए ।
मंगलबार पनि कांग्रेसका स्थानीय कार्यकर्ताको भीड गौरमा उस्तै छ । आलमलाई हिरासतमा राखिए लगत्तैबाट कांग्रेस कार्यकर्ताहरुको अदालत परिसरमा भीड लाग्दै आएको छ ।
शुरुका दिनहरुमा सडक प्रदर्शन नै गरे पनि केन्द्रीय कार्यालय सानेपाको निर्देशन पछि मौन प्रदर्शन थालेका हुन् । आलमलाई फसाउन खोजिएको भन्दै स्थानीय कार्यकर्ता रिहाइको माग राख्दै आएका छन् ।
२७ चैत २०६४ मा फरहदवामा बम बिस्फोटका घाइतेहरुलाई जिउदै जलाएको आरोपमा गत २६ असोजमा आलम पक्राउ परेका छन् ।
२०६४ को निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले बनाइदै गरेको बम बिस्फोट भएर घाइते आफ्नै कार्यकर्तालाई ईटाभट्टामा जलाएर मारेको आरोप आलमलाई लागेको छ ।
आलम बिरुद्ध सरकारी वकिलको कार्यालय रौतहटले सर्वस्व सहित जन्मकैदको माग दावी सहित मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता पछि गत बिहीबार आलमले जिल्ला अदालतमा बयान दिएका छन् । बयानमा आलमले बिस्फोटका घटना नै नभएको बताउँदै आएका छन् ।
याे पनि