इरानमा भेटियो खनिज इन्धनको विशाल भण्डार, अमेरिकालाई जवाफ
इरानमा खनिज इन्धनको एउटा विशाल भण्डार भेटिएको छ। उक्त तेल भण्डार ५३ अर्ब ब्यारल रहेको अनुमान गरिएको छ।
इरानका राष्ट्रपति हसन रूहानीले तेल भण्डार भेटिएको घोषणा गरेका हुन्। तेल भण्डार इरानको दक्षिण-पश्चिम प्रान्त खुजेस्तानमा २ हजार ४०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
अमेरिकाको कठोर आर्थिक प्रतिबन्ध झेलिरहेको इरानको अर्थव्यवस्थाको लागि यो महत्वपूर्ण कोशेढुंगा साबित हुने बताइएको छ। यो तेल भण्डार ६५ अर्ब ब्यारलको अहवाज तेल क्षेत्रपछिको दोस्रो ठूलो हुनेछ।
इरान तेल निर्यात गर्ने देशहरुको संगठन अर्गनाइजेशन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) को संस्थापक हो। नयाँ खोजपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशत बढोत्तरी भएको छ।
अमेरिकी इन्फर्मेसन एनर्जी एडमिनिस्ट्रेशनका अनुसार, विश्वमा सर्वाधिक ठूलो तेल भण्डार रहेका देशहरुमध्ये इरान चौथोमा पर्छ। इरानी राष्ट्रपति रुहानीले पछिल्लो खोजबाट आफ्नो देश विश्वको तेस्रो ठूलो तेल भण्डार हुने बताएका छन्।
नयाँ तेल भण्डारको घोषणा गर्ने क्रममा रुहानीले अमेरिकालाई पनि जवाफ दिएका छन्। उनले भने, "अमेरिकाको शत्रुता र कठोर प्रतिबन्धका बाबजुद इरानको तेल उद्योगका कामदार र इन्जिनियरहरुले नयाँ क्षेत्रको खोजी गर्न सफल भएका छन्।"