समृद्ध भारतको अँध्यारो पाटो: एकै वर्ष ११ हजार किसानको आत्महत्या
भारत विश्वको सर्वाधिक तीव्र रुपमा विकसित अर्थव्यवस्था भएका देशमध्ये एक मानिन्छ। तर, यसको लाभ त्यहाँका सबै जनताले समान रुपमा उपभोग गर्न पाएका छैनन्। एकातिर, केही सीमित व्यक्तिसँग धन थुप्रिएको छ, अर्कातिर दैनिक छाक टार्नै मुश्किल पर्ने गरीबहरुको जनसंख्या ठूलो छ।
मध्यम वर्ग लक्षित नीतिमा केन्द्रित रहेको आरोप खेप्ने भारतीय सरकारले निम्न वर्ग र किसानलाई उपेक्षा गरिरहेको विभिन्न अध्ययन र तथ्यांकले देखाउने गरेका छन्। यसको भयावह दृष्टान्त हो, किसानको आत्महत्या। गरीबी र ऋणको दुश्चक्रका कारण भारतमा धेरै किसानले आत्महत्या गर्ने गरेका छन्।
यसैबीच, भारतको केन्द्र सरकारले किसानको आत्महत्याको तथ्याङ्क सार्वजनिक गरेको छ। गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय अपराध रेकर्ड ब्यूरो (एनसीआरबी) को प्रतिवेदन अनुसार, सन् २०१६ मा ११ हजार ३७९ किसानले आत्महत्या गरेका थिए।
यो तथ्याङ्कले हरेक महीना ९४८ र हरेक दिन ३१ किसानले आत्महत्या गरेको देखाउँछ।
एनसीआरबीले अघिल्ला वर्षको तुलनामा सन् २०१६ मा आत्महत्याको दर घटेको जनाएको छ। सरकारी तथ्याङ्क अनुसार, सन् २०१४ मा १२ हजार ३६० र २०१५ मा १२ हजार ६०२ किसानले आत्महत्या गरेका थिए।
प्रतिवेदनमा आत्महत्याको कारण भने खुलाइएको छैन। पहिलेका प्रतिवेदनमा किसानले आत्महत्या गर्नुपर्ने कारण समेत खुलाइएको हुन्थ्यो।
भारतमा आत्महत्या गर्ने किसानमध्ये अधिकांश पुरुष छन्, महिलाको संख्या ८.६ प्रतिशत मात्र छ। खेतमा ठूलो संख्यामा काम गर्ने महिलालाई किसानको दर्जा नदिइएकाले यस्तो अन्तर देखिएको हुन सक्छ।
किसानको आत्महत्यामा महाराष्ट्र राज्य हरेक वर्ष पहिलो स्थानमा रहने गरेको छ। लगातार पहले सन् २०१६ मा यहाँ भारतभरिमा सबैभन्दा धेरै ३,६६१ किसानले आत्महत्या गरेका थिए। यसअघि सन् २०१४ मा महाराष्ट्रमा ४,००४ र २०१५ मा ४,२९१ किसानले जीवन समाप्त गरेका थिए।
पछिल्लो रिपोर्टका अनुसार महाराष्ट्र सरकारले सन् २०१३ देखि २०१८ सम्ममा राज्यमा १५ हजार ३५६ किसानले आत्महत्या गरेको उल्लेख गरेको छ।
किसानको आत्महत्या मामिलामा महाराष्ट्रपछि कर्नाटक दोस्रो स्थानमा आउँछ। त्यहाँ सन् २०१५ मा १,५६९ र २०१६ मा २,०७९ किसानले आत्महत्या गरेका थिए।
तेलंगानामा भने किसानको आत्महत्या दर आधा घटेको जनाइएको छ। सन् २०१४ र २०१५ मा क्रमश: १,३४५ र १,४०० किसानले आत्महत्या गरेका थिए भने २०१६ मा ६४५ मात्र किसानले जीवन हारेको प्रतिवेदनमा उल्लेख छ।
बिहार सरकारले भने सन् २०१६ मा एक जना पनि किसानले आत्महत्या नगरेको दाबी गरेको छ। एनसीआरबीले सन् १९९५ देखि किसानको आत्महत्यासम्बन्धी तथ्याङ्क प्रकाशन गर्दै आएको छ। प्रतिवेदनका अनुसार, भारतभर त्यसवेलादेखि सन् २०१६ सम्ममा कुल ३ लाख ३३ हजार ४०७ किसानले आत्महत्या गरिसकेका छन्। - द वायर