टी२० वरीयतामा खस्किए पारस र सन्दीपसहित सबै नेपाली क्रिकेटर
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नोभेम्बरको टी२० वरीयतामा पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी तल झरेका छन्। अविनाश बोहोरा र वसन्त रेग्मी भने बलिङ वरीयताबाट बाहिरिएका छन्।
ब्याटिङतर्फ वरीयतामा परेका एक मात्र नेपाली खेलाडी पारस १० स्थान तल झर्दै ५५औँ नम्बरमा पुगेका छन्। अक्टोबरको वरीयतामा उनी ४५औँ नम्बरमा थिए। सेप्टेम्बरको वरीयतामा भने उनी ६६औँ नम्बरमा थिए। ब्याटिङ वरीयताको पहिलो नम्बरमा पाकिस्तानका बाबर अजाम छन्।
अलराउण्डतर्फको वरीयतामा पनि उनी आठ स्थान तल झरेका छन्। अक्टोबरको वरीयतामा २४औँ स्थानमा रहेका उनी नयाँ वरीयतामा ३२औँ नम्बरमा पुगेका छन्।
अलराउण्ड वरीयतामा परेका अरु दुई खेलाडी सोमपाल र करण पनि खस्किएका छन् । यसअघि ६०औँ स्थानमा रहेका सोमपाल ६७औँ स्थानमा झरेका छन् भने यसअघि ७७औँ नम्बरमा रहेका करण ८८औँ स्थानमा पुगेका छन्। अष्ट्रेलियाका ग्लेन म्याक्सवेललाई विस्थापन गर्दै अफगानिस्तानका मोहम्मद नाबी अलराउण्डरको पहिलो नम्बरमा पुगेका छन्।
बलिङतर्फ यसअघि पाँच नेपाली खेलाडी समावेश थिए। तर, यसपटक सन्दीप, सोमपाल र करण मात्र समावेश छन् । तीनै जनाको वरीयता खस्केको छ।
यसअघि ६४औँ स्थानमा रहेका सन्दीप नयाँ ववरीयतामा ६८ औँ स्थानमा छन्। त्यस्तै यसअघि ६८औँ नम्बरमा रहेका सोमपाल ८४औँ नम्बरमा र ८३औँ नम्बरमा रहेका करण १००औँ नम्बरमा पुगेका छन्। बलिङतर्फ पहिलो नम्बरमा अफगानिस्तानका रसिद खान छन्।
खेलाडीको वरीयता घटे पनि टी२० मा एक स्थान सुधार गर्दै नेपाल १२औँ स्थानमा पुगेको छ। वरियताको पहिलो नम्बरमा पाकिस्तान छ। वरीयतामा समावेश ८६ देशमध्ये चीन सबैभन्दा पुछारमा छ।
यता एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) तर्फ नेपाल १७औँ स्थानमा यथावत छ । ओडीआई वरीयतामा २० देश समावेश छन्। गत वर्ष पुस यता नेपालले ओडीआई खेलेको छैन।