आजदेखि मादीको २५ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै
कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको २५ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा टर्वाइन ५ पुसदेखि सञ्चालन भई साढे १२ मेगावाट उत्पादन भइरहेकोमा आजदेखि दुबै टर्बाइन चलाएर २५ मेगावाट उत्पादन हुने भएको हो ।
आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण शुरु गरिएको आयोजना अवधिमा नाकाबन्दी, मधेश आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुग्न गएको बताइएको छ ।
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजना शुरु गरिएको थियो ।
ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाको आज उद्घाटन गर्ने कार्यक्रम छ ।
सच्याइएको:यो समाचारमा '२५ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै' हुनुपर्नेमा भूलबस अन्यथा भएकोले सच्याइएको छ ।