कुवेत विरुद्ध नेपालको खेल भुटानमै हुने
दशरथ रंगशाला पुनर्निर्माण नसकिएपछि विश्वकप फुटबल २०२२ र एसियाकप २०२३ को छनोट अन्तरगत कुवेत विरुद्ध नेपालले भुटानमा खेल्ने भएको छ ।
दशरथ रंगशालाको पुनर्निमाण नसकिए पछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको छ । फिफाको तालिका अनुसार ३ मंसीरमा हुने सो खेल अब भुटानमा हुने पक्का भएको अखिल नेपाल फुटवल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले कुवेतविरुद्ध पहिलो खेल घरेलु मैदानमा १९ भदौमा खेल्ने फिफाको तालिका थियो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला तयार भइनसकेकाले नेपालले कुवेतसँग पहिला ‘अवे’ खेल खेलेको थियो । तर, दशरथ रंगशाला पुनर्निर्माण नसकिएपछि कुवेतले ३ मंसिरमा यहाँ आएर खेल्न अस्विकार गरेको छ ।
कुवेतको प्रतिक्रिया लगत्तै एसियाली फुटबल महासंघ (एएफसी)ले खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।
एएफसीको निर्देशनसँगै कुवेतविरुद्ध नेपालले घरेलु मैदानमा खेल्न नपाउने निश्चित भएको छ । अवे खेलमा नेपाल कुवेत विरुद्ध ७–० ले पराजित भएको थियो ।