डा.केसीलाई काठमाडौं ल्याउन डडेलधुरा पुग्यो हेलिकोप्टर, स्वास्थ्य अवस्था क्रिटिकल
स्वास्थ्य अवस्था क्रिटिकल बन्दै गए पछि डा.गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर डडेलधुरा पुगेको छ ।
तर, डा.केसी काठमाडौ आउन तयार भएका छैनन् । डा.केसीलाई काठमाडौं पठाउन पहल भइरहेको डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले हिमाल खबरलाई बताए ।
“अस्पतालले डा.केसीको स्वास्थ्य अवस्था क्रिटिकल बन्दै गएको बताए पनि डा.केसी तयार हुनु भएको छैन” प्रजिअ पौडेलले भने, “मनाउने प्रयास भइरहेको छ ।”
डा.केसीलाई काठमाडौं ल्याउन नेपाल सेनाको हेलिकोप्टर डडेलधुरा पुगेको छ । “हेलिकोप्टर आइसकेको छ, काठमाडौं पठाउने प्रयास भइरहेकै छ”, प्रजिअ पौडेलले बताए ।
सात बुँदे माग राखेर १८ कात्तिकदेखि अनशनमा बसेका डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गए पछि २३ कात्तिकमा अस्पताल भर्ना गरिएको छ ।
तर, स्वास्थ्य अवस्था बिग्रदै गएकाले कुनै पनि बेला आउन सक्ने जटिलता व्यवस्थापन गर्न नसकिने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार, थप उपचारका लागि आवश्यक आईसीयू, एबीजी, दक्ष जनशक्ति र उपकरण नभएकाले डा.केसीलाई काठमाडौं लैजान अस्पतालले अपील गरेको छ । डा.केसीको १७औं अनशनका लागि डडेलधुरा पुगेका हुन् ।