ट्याक्टर र टिपरको ठक्करबाट दुई जनाको मृत्यु
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो ।
उनका अनुसार जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका छोरा नौ वर्षीय राजकुमार मुखियालाई शनिबार साँझ जलेश्वर–२ मै रहेको नेपाल रेडक्रस सोसाइटी अगाडि सडकमा लु२त ७६९९ नंको ट्याक्टरले ठक्कर दिएका थिए ।
ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसम्म लगियो । तर, आइतबार बिहान ७ बजे उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
आइतबार दिउँसो १ बजे जिल्लाको पिपरा गाउँपालिका– २ अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफलाई जलेश्वर नपा–२ स्थित बुद्धिजीविचोकमा बर्दिवासबाट बालुवा बोकेर आएको ना१क ९६८३ नंको टिपरले ठक्कर दिएर घाइते बनाए ।
गम्भीर घाइते उनलाई पनि जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुरमा अवस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा लगिएकामा आइतबार अबेर साँझ मृत्यु भयो ।