‘५ करोडको बार्गेनिङ नमान्दा झ्यालखाना’
ठगी आरोपमा प्रहरी हिरासतमा रहेका अर्बपति व्यवसायी रुपज्योतिले आइतबार काठमाडौं जिल्ला अदालतमा न्यायाधिस सामु आफूसँग रु. ५ करोड फिरौतीको शैलीमा मागिएको र सो रकम दिन मञ्जुर नगर्दा ठगीको आरोपमा पक्राउ हुनुपरेको बताएका छन् ।
ज्योतिले प्रष्ट नखोले पनि संकेत गरेको कुरा थियो– पैसाका लागि ‘बार्गेनिङ’ गर्ने समूहको कुरा स्वीकार नगर्दा उनी जबर्जस्ती कानूनी फन्दामा पारिएका हुन् ।
बिगेन्द्रकृष्ण मल्लको ठगीको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुचि ज्योति २१ कात्तिक राति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
ज्योति निकट स्रोत भन्छ, “मल्लसँग उच्च राजनीतिक पहुँच भएको समूहसमेत जोडिई पाँच करोड दिनुपर्ने भनी प्रस्ताव गरेको शर्त नमान्दा कानुनी फन्दामा पर्नुपरेको हो ।”
पूर्व अर्थ राज्यमन्त्री समेत रहेका व्यवसायी ज्योति मागेबमोजिमको रकम दिन टसमस नभएपछि उनी कानुनी फन्दामा परे । गृहमन्त्री रामबहादुर थापाबाट ‘ग्रिन सिग्नल’ आएपछि ज्योति पक्राउ पर्न प्रहरीले हतारो देखाएको स्रोत बताउँछ । ज्योतिले अदालतसामु आफूले अहिलेसम्म पनि पक्राउ पर्नुको आधार र कारण नपाएको पनि बताएका थिए ।
‘हिरासत पठाउने नियत’
सिंगापुर छँदैमा ज्योतिले सूचना पाएका थिए, प्रहरी पक्राउ गर्न विमानस्थलमा कुरेर बसेको छ, नेपाल नफर्कनू । तर, पक्राउ पर्ने थाहा हुँदा हुँदै उनी छोरीसित त्रिभुवन विमानस्थल उत्रिए । अन्ततः त्यति भयो, जुन उनले सिंगापुरमा सूचना पाएका थिए ।
ज्योति पक्राउको कारण खोतल्न पाँच वर्ष अगाडि पुग्नुपर्छ । २०७१ जेठमा ल्याण्डमार्क डेभलपर्स प्रालिले सीई कन्स्ट्रक्सनलाई परियोजनाको साझेदार बनाएर बाँसबारीमा हाउजिङ परियोजना सञ्चालन गर्ने योजना बनायो ।
ल्याण्डमार्कमा ज्योति समूहका ज्योति एण्ड कम्पनी प्रालिसहितका तीन कम्पनीको लगानी छ । उक्त जग्गामध्ये प्लट नम्बर १९ मा बन्ने घरका लागि बालुवाटार बस्ने बिजेन्द्रकृष्ण मल्लले बुकिङ गर्दै २ जेठ २०७१ मा रु. १० लाख बैना सीई कन्स्ट्रक्सनका महाप्रबन्धक रहेका शम्भुप्रसाद फुँयाललाई बुझाए ।
घरका लागि मल्लले १७ भदौ २०७१ मा थप रु. १ करोड २६ लाख ७५ हजार पनि फुँयाललाई बुझाए । बाँकी रु. ७७ लाख ४४ हजार ७५० घर निर्माण सम्पन्न गरी हक हस्तान्तरण गरेको दिन दिने शर्त थियो ।
तोकिएको समयमा घर नपाएपछि मल्ल र सीई कन्स्ट्रक्सनबीच किचमिच शुरु भयो । सीईले घर बनाएर दिन नसकिएको बताउँदै मल्लले तिरेको रकम फिर्ता लिन पटक–पटक ताकेता ग-र्यो ।
तर, कुरा त्यसपछि थप बिग्रियो, जब ल्याण्डमार्कले उक्त प्लट २०७४ कात्तिकमा क्वालिटी डेभलपर्सलाई विक्री गरिदियो । सीई कन्स्ट्रक्सनका महाप्रबन्धक शम्भुप्रसाद फुँयालले २०७४ चैत २३ मा बुकिङकर्ता मल्ललाई पत्र पठाउँदै उनलाई रकम फिर्ता लिन पटक–पटक भनिएपनि मल्लले फिर्ता नलिएको र सो रकम मागेको दिन फिर्ता दिने गरी कम्पनीमा रहेको उल्लेख गरेका छन् ।
बुकिङ गरेको जग्गा नै विक्री भएपछि मल्ल बिच्किए र मुद्दा प्रहरीमा लिएर गए । प्रहरीले देवानी प्रकृतिको मुद्दा भएको भन्दै छलफलद्धारा टुंग्याउन सुझव दियो । तर, मल्ल र ज्योतिबीचको सम्बन्ध थप बिग्रदै गयो ।
यसैबीच, २०७५ मंसीर १३ गते रुपज्योति घर बुकिङकर्ता मल्ललाई दिनुपर्ने रकम फिर्ता गराई पाउँ भन्ने निवेदन लिई जिल्ला अदालत गए । अदालतले तिम्रो पैसा हामीले किन लिने ? अदालतको शुल्क तिर भनेपछि ज्योतिले १ प्रतिशतका दरले रु. १ लाख ४२ हजार ५०१ पनि अदालतलाई बुझाए । त्यसको तीन दिनपछि, १६ मंसीरमा मल्ल पनि ठगीको मुद्दा लिएर ज्योतिसहितका ११ जनाविरुद्ध जिल्ला अदालतमा गए । त्यही निवेदनका आधारमा जिल्ला अदालतले ज्योतिलाई पक्राउ पूर्जी जारी ग-र्यो ।
तर, त्यसलगत्तै जिल्ला अदालतको उक्त पक्राउ पूर्जीविरुद्ध ज्योति सर्वोच्च अदालत पुगेर स्टे अर्डर लिए । तर, गत कात्तिक १८ मा सर्वोच्चले अन्तिम सुनुवाई गर्दै करिब एक वर्ष पूरानो स्टे अर्डर खारेज गरेपछि प्रहरीले ज्योतिलाई विदेशबाट फर्कनासाथ पक्राउ ग-र्यो ।
कमजोरीले कानुनी फन्दा
रुपज्योतिले आफूलाई ल्याण्डमार्क डेभलपर्सको सञ्चालक भनी पक्राउ पूर्जी जारी गरिएको तर आफू ल्याण्डमार्कको सञ्चालक नै नभएको दाबी गरेका छन् । त्यस्तै, आफूहरुलाई थाहै नभई मल्लसँग सीई कन्स्ट्रसनले रकम लिएको र त्यसका लागि सीईकै रकम लिने व्यक्ति जिम्मेवार रहेको उनको दलिल छ ।
तर, ल्याण्डमार्कको परियोजना साझेदार सीई कन्स्ट्रक्सनले शुरुमा मल्लसँग बुकिङबापत रकम लिएपनि पछि उक्त जग्गाको सट्टा अन्यत्रको जग्गा वा साँवाब्याज फिर्ता लिन ताकेता गरेको देखिन्छ ।
तर, पैसा बुझाएर बुकिङ गरिसकेको जग्गा नपाउने भएपछि कानुनी रुपमा बलियो बनेका मल्ल परियोजनाको कमजोरीको छिद्रबाट पसेर परियोजनाका सञ्चालकहरुलाई ‘अप्ठ्यारो पार्ने’ मनसायमा रहेको देखिन्छ ।
मल्लले एकसाथ ल्याण्डमार्क डेभलपर्सकी अध्यक्ष मिला सायमी तथा पद्य ज्योति, रुप ज्योति, कमला कंशाकार, सौरभ ज्योति, सुहृद ज्योति, सुरुचि ज्योति, अभिक ज्योति, प्रकाश भक्त माथेमा, किरण महर्जन र शम्भुप्रसाद फुँयालविरुद्ध मुद्दा दायर गरेका थिए ।
यसैबीच, आइतबार काठमाडौं जिल्ला अदालतले ठगी अभियोगमा पक्राउ परेका व्यवसायी रुपज्योति र उनकी छोरी सुरुचि ज्योतिलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंको न्यायाधिस ओमप्रसाद अर्यालको इजलाशले रुपज्योति र उनकी छोरीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको हो ।
अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दिएको तीन दिनको म्याद आज (आइतबार) सकिएपछि प्रहरीले आज उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो । ज्योतिका कानुन व्यवसायीले हिरासतमा राख्नुको कारण नभएकोले साधारण तारिखमा रिहा गर्न माग गरेका थिए ।
रुपज्योति र सुरुचि ज्योति सिंगापुरबाट नेपाल फर्कनासाथ २१ कात्तिक राती प्रहरीले ठगीको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
नेपालको ठूलामध्येको एक व्यवसायिक घरानाका मालिक ज्योतिलाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ । ज्योतिलाई रु. १ करोड २६ लाख ठगी गरेको आरोप लागेको छ । आफ्नो मुद्दामा आफैं प्रतिरक्षा गर्दै ज्योतिले आफूलाई पक्राउ पर्नुको आधार कसैले नदिएको र नियतवश हिरासतमा राखिएको बताएका थिए ।
उनले ज्योति परिवारको प्रतिष्ठामाथि बलात्कार गरिएको र कसैले आरोप लगाउने बित्तिकै आधार र कारण नहेरी दुराशयपूर्ण ढंगमा पक्राउ गरिएको बताएका थिए । “ठगी गर्ने कम्पनी भनिएको ल्याण्डमार्क डेभलपर्सको म र मेरो छोरी लगायतका सदस्य सञ्चालक नै होइनौं, कसरी हामी दोषी भयौं ?” ज्योतिले अदालतमा आफ्ना कुरा सुनाउँदै भनेका थिए ।