पुस्तकमा नेपाली पाटेबाघको इतिहास
पाटे बाघको बारेमा नेपाली भाषामा लेखिएको पुस्तक प्रकाशन भएको छ । चराविदको रुपमा आफ्नो परिचय बनाएका डा. हेमसागर बरालले पाटे बाघको बारेमा पुस्तक लेखेका हुन् ।
बरालद्वारा लिखित उक्त पुस्तकको आइतबार संरक्षणविद डा. तीर्थबहादुर श्रेष्ठले विमोचन गरे ।
पुस्तकमा बाघको उत्पत्ति, ऐतिहासिक पृष्टभूमि, बाघका प्रजातिहरु, विश्वबाट लोप भएका बाघका उप प्रजातिहरु, हाल अस्तित्वमा रहेका बाघका उप प्रजाति, बाघका आहारा प्रजातिका विषयहरु समावेश गरेका छन् ।
बाघले सिकार गर्ने तरिका, बाघको बानी व्यहोरा र प्रजनन् अवस्था, बाघको सांस्कृतिक एवम् धार्मिक महत्व, बाघ र मानिसबीचको सम्बन्ध, प्राकृतिक सन्तुलनमा बाघको योगदान र बाघ पर्यटनका विषयमा लेखकले लेखेका छन् ।
डा. बरालले पथ प्रर्दशकका रुपमा काम गर्दा र त्यस वेला भोगेका विषयहरुलाई पनि पुस्तकमा समावेश गरेका छन् ।
पुस्तक विमोचन समारोहमा पुस्तकबारे बरालले पथप्रर्दशनको रुपमा काम गर्दा सन् १९८० देखि आफूले बाघको बारेमा बुझेको बताए ।
पहिला बाघ त्यसपछि चराको अध्ययनमा लागेको जानकारी उनले पुस्तक विमोचन समारोहमा दिए ।
सर्वसाधारण र संरक्षण क्षेत्रमा लागेका सवैलाई पाटे बाघको बारेमा बुझाउने गरी आफूले नेपाली भाषामा पुस्तक लेखेको उनको भनाई छ । बरालका अनुसार पाटे बाघका बारेमा लेखिएको यो नेपाली भाषाको पहिलो पुस्तक हो ।