वीरगञ्जमा हजरत मोहम्मद जन्मोत्सव (भिडियाे सहित)
–एस उपाध्याय
मुस्लिम समुदायका धर्मगुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९४ औं जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको छ ।
मुलुकको समृद्धिको कामना गर्दै वीरगञ्जमा पैगम्बर हजरत मोहम्मद जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको हो । जन्मोत्सवको अवसरमा आज र्याली निकालिएको छ ।
मुस्लिम समुदायका विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा घण्टाघर चोकबाट शुरु भएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरूले प्ला कार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजारी संवतको रब्बिउल औवल महीनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरीफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । जन्मदिनको खुसीयालीमा मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउल औवल) को रूपमा मनाउने गर्दछन् ।
हर्षोल्लासका साथ मनाइने मोहम्मद जयन्तीका दिन आज प्रदेश नं. २ सरकारले सार्वजनिक बिदा दिएको छ ।