गर्भपतनपछि १२ वर्षीया बालिका डिस्चार्ज, सहयोग गर्ने मन्त्री थापाको प्रतिबद्धता
अछामकी १२ वर्षीया गर्भवती किशोरीलाई गर्भपतनपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
जबर्जस्तीकरणीबाट गर्भवती बनेकी अछामकी उनलाई १६ कात्तिकमा काठमाडौंको प्रसूति गृह थापाथलीमा भर्ना गरिएको थियो ।
शुक्रबार उनको गर्भपतन गरिएपछि स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
बौद्धिक अपांगता भएकी उनी अस्पतालमा भएको र उनलाई काठाडमाडौं लिएर आएका ठूलो बुबा कृष्ण बोहोरालाई आर्थिक समस्या परेको बारे समाचार प्रकाशित भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आइतबार बिहान अस्पताल पुगेकी थिइन् ।
सानै उमेरमा गर्भवती भएका कारण गर्भपतन गरिएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले मन्त्री थापालाई जानकारी गराएका थिए ।
मन्त्री थापाले बालिकाका अभिभावकसँग भेटेर बालिकाको लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
भेटपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्ता हिंसा पीडित महिला–बालिकाका लागि मन्त्रालयको लैंगिक हिंसा निवारण कोषबाट आवश्यक सहयोग गर्दै आएकाले उनको लागि पनि सहयोग गर्ने बताइन् ।
उनलाई केही समय आराम गर्नुपर्ने र मनोपरामर्शको पनि आवश्यकता पर्ने भएकाले आशा नेपालको संरक्षणमा राखिने मन्त्रालयका उपसचिव अञ्जु ढुंगानाले जानकारी दिइन् ।
अछाम रामारोशनकी ती बालिका गर्भवती भएको करीब २ हप्ता अघि थाहा भएको थियो । धेरै नबोल्ने बौद्धिक अपांगता उनलाई घाँसदाउरा जाने क्रममा जबर्जस्तीकरणी भएर गर्भ रहन गएको आफन्तले बताएका छन् ।
कुकुरले टोकेर सुई लगाउन अस्पताल लैजाँदा उनी गर्भवती भएको थाहा भएपछि जिल्ला अस्पताल मंगलसेन, जिल्ला प्रहरी कार्यालय अछाम तथा गाउँपालिकाले समन्वय तथा आर्थिक सहयोग गरेर काठमाडौं पठाएको थियो । बालिकाका ठूलोबा कृष्ण बोहोराले उनलाई लिएर काठमाडौं आएका हुन्।
कमजोर आर्थिक अवस्था भएका कारण ती बालिकाका लागि समाजसेवी राजेश्वरी श्रेष्ठ, अधिकारकर्मी इन्दिरा घलेलगायतले आर्थिक तथा कपडाहरु अस्पतालमै गएर दिएका थिए ।