भारतीय निर्भरता तोड्न व्यावसायिक मेवा खेती
-सौरभ यादव, सप्तरी
किसानको घरआँगनमा मेवाका बोट त देखिन्छन्, तर ती मेवा व्यावसायिक प्रयोजनका लागि भने हुँदैनन् । त्यसैले त नेपाली बजारका लागि ७५ प्रतिशत बढी मेवा भारतबाट आयात हुने गरेको छ ।
सप्तरीको बजारमा उपलब्ध मेवा पनि भारतबाटै आयात गरिंदै आएको छ । कञ्चनरुप नगरपालिका–१२, का दीपक गुप्तालाई यति सामान्य वस्तु समेत भारतबाट आयात भएको मन परिरहेको थिएन । गुप्ता भन्छन्, “हाम्रा आँगनमा मेवा फलिरहेको छ । तर, त्यसले व्यावसायिक रुप लिन नसक्दा बजारले भारतीय मेवा बेचिरहेको छ ।”
अहिले गुप्ता सहित केही व्यक्तिहरुले सप्तरीमा मेवाको संयुक्त रुपमा व्यवसायिक खेती शुरु गरेका छन् । पिताम्बर कर्ण र अनिल प्रधान सहित गुप्ताले १९ लाखको लगानीमा झण्डै चार हजार मेवा रोपेका छन् ।
गुप्ताले भने, “तीनै जना मिलेर बोटको रेखदेख गर्दै आएका छौं । विरुवा राम्रै भए पनि प्राविधिक बेलामा नआउँदा चिन्ता हुन्छ ।”
पिताम्वर कर्ण कृषिमै केही नयाँ गर्ने सोचका साथ मेवा व्यवसाय शुरु गरेको बताउँछन् । “स्थानीय र प्रदेश सरकारले थोरै चासो दिने हो भने कम्तिमा मेवामा चाहिं देश आत्मनिर्भर बन्न सक्छ” कर्ण भन्छन्, “आँगनमै फल्ने मेवा पनि भारतबाट आयात गर्नु राम्रो होइन ।”
संयुक्त मेवा व्यवसायका सदस्य अनिललाई आफूले लगाएको मेवाबाट चार÷पाँच महीनाभित्रै उत्पादन शुरु हुने विश्वास छ । सप्तरीका बजारमा मेवा प्रतिकिलो रु.६५ सम्म पर्छ ।