‘अकुपाई टुँडिखेल’
अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गर्न हात हातमा प्ला कार्ड बोकेर खुलामञ्च र रत्नपार्क क्षेत्रलाई शनिबार नागरिकहरुले घेरे।
‘अकुपाई टुँडिखेल अभियान’ अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेर्न आएका उनीहरुले टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता, पुर्खाको नासो जनताको हक, खुल्ला ठाउँलाई खुल्लै राखौं, लगायत नारा लेखिएका प्ला कार्ड बोकेर आएका थिए ।
अतिक्रमणबाट जोगाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको थियो ।
सार्वजनिक स्थान रानीपोखरीदेखि दशरथ रंगशाला जनताको हो यसलाई अतिक्रमण गर्न पाइँदैन भन्ने खबरदारी कार्यक्रम गरिएको अकुपाई टुंडिखेल अभियानका अभियान्त आलोक तुलाधरले बताए ।
कार्यक्रममा सर्वसाधारणसँगै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, प्रदिप पौडेल, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शुरु गरिएको आजको सांकेतिक साङ्लोको रुपमा रहेको र अब निरन्तर तीन महीनासम्म हरेक शनिबार खबरदारी कार्यक्रम गरिने अभियानका अभियन्ता आलोक तुलाधरले जानकारी दिएका छन् । कार्यक्रम कस्तो हुने भन्ने खाका नबनिसके पनि सचेतनामूलक हुने उनले बताए ।
‘अकुपाई टुँडिखेल’ नाम भएपनि रानीपोखरीदेखि दशरथ रंगाशालासम्मको सार्वजनिक ठाउँहरु जनताको ठाउँ हो यसलाई अतिक्रमणबाट जोगाउन सरकारलाई खबरदारी गर्ने तुलाधरले बताए ।