काठमाडौंमा कम्पाग्नि ७२७३ को ‘फुइतफुइत’ र ‘टुडे’ नृत्यकला
चर्चित अन्तर्राष्ट्रिय नृत्य संस्था कम्पाग्नि ७२७३ ले आउँदो २६ र २७ कात्तिकमा काठमाडौंमा ‘फुइतफुइत’ नृत्य कार्यशाला र ‘टुडे’ नामक एकल नृत्य प्रस्तुत गर्ने भएको छ ।
‘नृत्य आँगन’ले नयाँ दिल्लीस्थित स्वीस आर्ट काउन्सिल प्रो हेल्भेसिया र नेपालस्थित स्वीट्जरल्याण्डको दूतावासको सहयोगमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
आयोजक ‘नृत्य आँगन’की संस्थापक सुबिमा श्रेष्ठका अनुसार, २६ कात्तिक, बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म झम्सिखेलस्थित ज्ञानमण्डलमा ‘फुइतफुइत’ कार्यशाला हुने छ । सहभागिताका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।
‘फुइतफुइत’ कार्यशाला, कम्पाग्नि ७२७३ का नर्तक र नृत्य निर्देशकद्वय लरेन्स यादी र निकोलस कान्तिलोनले कार्यशाला सञ्चालन गर्ने छन् ।
“फुइतफुइत नृत्य अरबी संगीतको साधना मकामबाट प्रभावित छ”, सुबिमा भन्छिन्, “यो नृत्यमा नर्तकले आफ्नो शरीरलाई अन्त्यहीन र खुल्ला छोड्दछ ।’
‘फुइतफुइत’ नृत्य संगीतकार वा कलाकारको भावपूर्ण अभिव्यक्ति कठोर कल्पना र साधनाबाट मात्रै सम्भव हुने बताउँदै उनी भन्छिन्, “‘फुइतफुइत शैलीमा नृत्य गर्दा शरीरका अंग यसरी सञ्चालन हुन्छन् कि शरीरमा तरंग पैदा हुन्छ ।”
सन् २००३ बाट सँगसँगै काम गर्दै आएका लरेन्स र निकोलसले ‘फुइतफुइत’ शैलीको नृत्यको शैली, निर्देशन विकास गरेका हुन् ।
‘टुडे’ प्रस्तुतिमा भने लरेन्स यादीले ४० मिनेटसम्मको एकल नृत्य प्रस्तुत गर्नेछिन् । यो शरीरमा लुकाएर राखिएका भावलाई सुरिलो संगीत मार्फत पोख्ने फरक शैली हो ।
‘टुडे’ प्रस्तुति भने अनामनगरस्थित मण्डला थिएटरमा २७ कात्तिक, साँझ ५ः३० देखि ६ः३० सम्म हुने छ । यसको प्रवेश शुल्क पाँच सय र तीन सय रुपैयाँ (विद्यार्थीका लागि मात्र) रहेको छ ।
लरेन्स र निकोलसले सन् २००३ मा स्थापना गरेको कम्पाग्नि ७२७३ ले अहिलेसम्म २० वटा नृत्यकृतिका सिर्जना गरिसकेका छन् । जसमा केही मौन नृत्य पनि छन् ।
स्वीट्जरल्याण्डका यी जोडी विश्वका विभिन्न ठाउँमा आफ्ना कला प्रस्तुत गरिसकेका छन् ।
आफ्नो नृत्यकलाका लागि लरेन्स र निकोलसले ‘स्वीज प्राइज फर डान्स एण्ड कोरियोग्राफी’ र ‘फोन्देसन लित्चती फर आर्टस्’ जस्ता उत्कृष्ट पुरस्कार समेत जितिसकेका छन् । जोडीले सन् २०१४ मा ‘फुइतफुइत’ नृत्य अभ्यासका लागि पुस्तक समेत प्रकाशित गरिसकेका छन् ।
कार्यक्रम आयोजक ‘नृत्य आँगन’ २००९ मा स्थापना संस्था हो । कत्थक नर्तक सुबिमा यसको संस्थापक हुन् । यो संस्थाले भारतीय सांस्कृतिक केन्द्र, एनिमल नेपाल, यूएनएचसीआर, सुशीला आर्टस् एकेडमी र यलमाया केन्द्रद्धारा आयोजित विभिन्न कार्यक्रममा आफूलाई प्रस्तुत गरिसकेको छ । ‘सृजनालय’ संस्थाका लागि रकम संकलनका लागि सक्रिय छ ।
“हरेक शैलीको नृत्यको छुट्टाछुट्टै विशेषता हुन्छ, सबैलाई सम्मान गर्नुपर्छ”, सुबिमा भन्छिन्, “त्यसैले पनि यसपटक नेपालमा नयाँ शैलीको कार्यक्रम गर्न लागेका हौं ।”