कला/साहित्यशनिबार, २३ कार्तिक , २०७६

समलिंगी भूमिकामा प्रियंका र सृष्टिको प्रशंसा

हिमालखबर

मोडल तथा कलाकार सृष्टि श्रेष्ठ अहिले माया रोलका कारण विशेष चर्चामा छिन् । समलिंगी कथामा बनेको वेब सिरिज ‘जस्ट अनदर लभ स्टोरी’मा सृष्टिले मायाको भूमिका निर्वाह गरेकी छिन् ।

वेब सिरिजमा माया (सृष्टि श्रेष्ठ) र अमारा (प्रियंका कार्की) समलिंगीको महिलाको भूमिकामा देखिएका छन् । यी दुईको जोडीले सकारात्मक प्रतिकृया पाइरहेको छ ।

६ भागसम्म आइपुग्दा दर्शकको प्रतिकृया पाएर दंग परेको बताउँछिन् श्रेष्ठ । भन्छिन् ‘अहिले आइरहेको प्रतिकृयाले एकदम खुशी छु । हामीलाई विदेशी दर्शकहरुको पनि एकदम राम्राे प्रतिकृया आइरहेको छ जसले दंग बनाएको छ । यो हामीले सोँचेका थिएनौं ।’

समलिंगी सम्बन्धलाई अझै पनि समाजले स्वीकार नगरिरहेको अवस्थामा यो वेभ सिरिजले समाजलाई समलिंगी सम्बन्ध विशेष होइन सामान्य हो भन्न सहयोग पुग्ने उनको धारणा छ ।

‘एलजीबीटीआई समुदायका साथीहरुले पहिचानको लागि जुन संघर्ष गर्नु परिरहेको छ यसलाई कम गर्न थोरै भए पनि सहयोग हुन्छ जस्तो लाग्छ ।’

‘जस्ट अनदर लभ स्टोरी’ ले नेपाली दर्शकचाहिं एकदम सीमित मात्र पाएको उनको भनाइ छ । उनी भन्छिन् ‘सीमित माझ मात्रै पुगे पनि यस्तो संवेदनशील तर महत्वपूर्ण विषय शुरु गर्नु नै मुख्य कुरा हो ।’ यो वेब सिरिज हेरेर विदेशी दर्शकले दिएको सकारात्मक प्रतिकृयाले हौसला बढेको बताइन् ।

यो सिरिज अब तीन भाग आउन बाँकी रहेको र अर्को सिजन बनाउनका लागि प्रियंका कार्कीले तयारी शुरु गरेको बताइन् ।

प्रतिकृया दिनुहोस