कमलमणि दीक्षितको निधनप्रति नेताहरुद्वारा शोक व्यक्त
नेपाल वाङ्मयको विकासमा समर्पित लेखक कमलमणि दीक्षितको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुले शोक व्यक्त गरेका छन् ।
“वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ बर्षको उमेरमा आज बिहान भएको निधनको खबरबाट नेकपा (एमाले) अत्यन्त दुखित भएको छ, ” ओलीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ,
नेपाली साहित्य र संस्कृतिको अनुसन्धान–अन्वेषणमा ठूलो दीक्षितको ठूलो योगदान रहेको भन्दै वक्तव्यमा नेपाली भाषाको सेवा र विकासमा उनले गरेको योगदान नेपाली समाजमा अविस्मरणीय रहने उल्लेख छ ।
विज्ञप्तिमा अगाडि उल्लेख छ, “यस दुःखद घडीमा नेकपा (एमाले) का तर्फबाट स्व. कमलमणि दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।”
देउवा, थापा र भट्टराईद्वारा पनि शोक व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दीक्षितको निधनप्रति दुख ब्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा देउवाले लेखेका छन्, "वरिष्ठ साहित्यकार कमलमणि दिक्षितकाे निधनकाे खवरले दुखि तुल्यायाे । हार्दिक श्रद्धान्जली !शाेकाकुल जनमा समवेदना प्रकट गर्दछु ।"
त्यसैगरी राप्रपा अध्यक्ष कमल थापा र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई लगायतका नेताहरुले पनि दीक्षितको निधनमा शोक व्यक्त गरेका छन् ।
श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित ८७ वर्षीय दीक्षितको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आज, १४ पुुस बिहान २ः४५ बजे निधन भएको हो । दीक्षितको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।