कालापानीबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाइयो
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, बालुवाटारमा दिउँसो चार बजे सर्वदलीय बैठक बोलाइएको छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो देशको नक्सामा भारतले समेटे पछि दिनहुँ प्रदर्शन भइरहेको छ ।
जनस्तरबाट भारतीय कदमको विरोध भए पछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । संविधानको धारा ३७० खारेज गरी जम्मू–कश्मीरको स्वायत्त अधिकार खोसेको भारतले केही दिन अगाडि राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।
उक्त नक्सामा नेपालको भूभाग परे पछि परराष्ट्र मन्त्रालयले बक्तव्य जारी गरी आपत्ति जनाइसकेको छ । तर, भारतले भने नेपालको भूभाग नछोएको प्रतिक्रिया दिएको छ ।