अर्थ/बजार शुक्रबार, कात्तिक २२, २०७६

हिमालय एयरलाइन्सको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

रासस

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तव्यमा आशातित व्यापार भइरहेको जनाएको छ ।

बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको संख्या भने अपेक्षितरूपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले गत कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सँघारमा काठमाडौं र बेइजिङबीच सीधा हवाई सम्पर्क स्थापना भएसँगै चीनबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्रने अपेक्षा गरिएको छ । भ्रमण वर्ष अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।

सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को आठ महीनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।

चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउनसके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् ।

हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौं–बेजिङ उडान गरिरहेको छ । हिमालयले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ ।

यो मार्गमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ । काठमाडौं बेइजिङ मार्गमा एकतर्फी उडान समय ५ः३० घण्टा हाराहारीको हुन्छ।

हिमालयले हाल बङ्गलादेशको ढाका, यूएईको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहामा सीधा उडान गर्दै आएको छ । बेइजिङसँगको सीधा उडान नेपालको पर्यटन प्रवर्धनका लागि कोसेढुङ्गा सावित हुने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस