राजपुर–फरहदवा बमकाण्ड : प्रतिवादीको तर्फबाट साेमबार थुनछेक बहस
२०६४, २८ चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन साँझ रौतहटको राजपुर फरहदवामा भएको भनिएको बमकाण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता महम्मद आफताब आलममाथि बिहीबारदेखि शुरु भएको थुनछेक बहस एकतर्फी सकिएको छ । वादीको तर्फबाट बहस सकिएको हो ।
वादीतर्फका अधिकांश अधिवक्ताहरूले अभियुक्त आलमलाई प्रहरी हिरासतमै राखी अनुसन्धान गर्नुपर्ने माग अदालतसमक्ष गरेका छन् । बिहीबार र शुक्रबार गरी वादीको तर्फबाट थुनछेक बहसमा १३ जना अधिवक्ताले भाग लिएका छन् ।
भोलि २३ कात्तिकमा शनिबार परेको र २४ कात्तिक आइतबारमा पैगम्बर मोहम्मदको जन्मदिनको बिदा भएकाले २५ कात्तिक सोमबार मात्र प्रतिवादीतर्फका अधिवक्ताले थुनछेक बहस गर्न पाउने छन् । थुनछेक बहस नसकिएकाले आलम प्रहरी हिरासतमै रहने छन् ।
बम विस्फोटमा परी केहीको मृत्यु भएको, केही गम्भीर घाइते भएको र मृतक तथा जिउँदै रहेका घाइतेसमेतलाई आलमले गाउँजनिकै रहेको इँटा उद्योगमा जलाएको आरोप रहेको छ ।
शक्तिमा रहेका आलमलाई तत्कालीन प्रहरी प्रशासनले प्रत्यक्ष सहयोग गरेको घटनाका प्रत्यक्षदर्शी भनिएकाहरूले बयान दिइसकेका छन् । घटनाको विषयमा मुख्य अभियुक्त आलमले इन्कारी बयान दिँदै आएका छन् । घटना हुँदै नभएको र आफूलाई फसाउने उद्देश्यले कपोलकल्पित घटनाको षड्यन्त्र रचिएको आलमको दाबी छ ।
बमकाण्डको विषयमा तत्कालीन विभिन्न प्रहरी प्रमुखहरूसित बयान लिइसकिएको छ ।