मध्यपुर ठिमीका मेयरद्वारा सामुदायिक वन खारेज
मध्यपुर ठिमी नगरपालिका भक्तपुरका मेयर मदन सुन्दर श्रेष्ठले आफ्नो एकल निर्णयबाट सामुदायिक वन खारेजको घोषणा गरेका छन् ।
मेयर श्रेष्ठले मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर ४ र ५ मा फैलिएको बालकुमारी विष्णुबीर सामुदायिक वन खारेज गर्ने निर्णय गरेका हुन् ।
७ कात्तिक २०७६ मा सामुदायिक वन खारेजी गरेको निर्णय मेयर श्रेष्ठले डिभिजन वन कार्यालय भक्तपुरलाई पठाएका थिए ।
नगरपालिकाले वन खारेज गरेको निर्णय आफूहरुले डिभिजन वन कार्यालय मार्फत १५ कात्तिकमा पाएको विष्णुबीर सामुदायिक वनकी सचिव देवकी श्रेष्ठले बताइन ।
श्रेष्ठका अनुसार, नगरपालिकाले वनमा पार्क निर्माण गर्ने नाममा डोजर लगाएर बनमा भएका रुख कटान गरेको थियो । उपभोक्ता समितिले नगरपालिकाले गैर कानुनी रुपमा गर्दै आएको कामको विरोध गरेका थिए ।
नगरपालिकाले वनकै क्षेत्रमा रिकिस नामको कम्पनीलाई फोहोर प्रशोधनद्वारा मल उत्पादनका लागि जग्गा दिएको छ ।
८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन २०५६ सालमा समुदायलाई हस्तान्तरण भएको थियो । नगरपालिकाले सञ्चालन गरेका योजनामा सामुदायिक वनले बाधा व्यवधान खडा गरेकाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को प्रयोग गरी सामुदायिक वन खारेज गरिएको मध्यपुर ठिमि नपाले जनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले भक्तपुर ठिमी नगरपालिकाको उक्त निर्णयको विरोध गर्दै नेपालको संविधान, वन ऐन नियमको बपरीत भएको बताएको छ ।