माफ माग्यो एन्फाले, दशरथ रंगशाला बनिनसकेकाले भूटानमा प्रस्ताव
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुबेतबीचको खेल भूटानमा गर्न प्रस्ताव गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशालामा खेल नहुने भएकाले भुटानमा प्रस्ताव भएको जनाएको छ । नेपाल र कुबेतबीचको खेल ३ मंसीरमा दशरथ रङ्गशालामा तय भएको थियो ।
सोही खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रङ्गशालामा गर्न प्रस्ताव गरिएको एन्फाले जनाएको छ । अन्तर्रा्ष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।
अधिकतम प्रयत्नका बाबजुद नेपाल र कुबेतबीचको खेल दशरथ रङ्गशालामा गराउन नसकेकामा एन्फाले फुटबल समर्थकसँग माफी समेत मागेको छ ।
२०७२ को भूकम्पका कारण रङ्गशाला पूर्णरुपमा क्षति भएको थियो । समयमै रङ्गशालाको पुनःनिर्माण हुन नसक्दा खेल खेलाउन असमर्थ भएको एन्फाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसअघि विश्वकप छनोटको खेलमा नेपाल कुबेतसँग ७–० गोलले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । नेपाल अष्ट्रेलियासँग ५–० गोलले तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।