कालापानी सीमा विवाद: भारतकाे बचाउ प्रयास
नेपालले दार्चुलाको कालापानी क्षेत्र आफ्नो रहेको धारणा सार्वजनिक गर्दै भारतीय नक्साको खण्डन गरेपछि भारतको विदेश मन्त्रालयले आफ्नो देशको नक्सा प्रकाशित गरेको दाबी गरेको छ ।
भारतीय विदेश सचिव रविस कुमारले २१ कात्तिकमा नयाँदिल्लीमा नियमित पत्रकार सम्मेलनमा हालै भारतले प्रकाशित गरेको उसको राजनीतिक नक्साको बचाउ गरेका छन् । पत्रकार सम्मेलनमा उनले भने, “त्यो हाम्रो खास नक्सा हो ।”
तर यसअघि २० कात्तिकमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाली कालापानी क्षेत्र नेपालको रहेको स्पष्ट पारेको थियो । विज्ञप्तिमा नेपालले सीमा विवाद भए कूटनीतिक माध्यमबाट समाधान हुनुपर्ने दृढता व्यक्त गरेको थियो ।
यसैबीच भारतले सीमा मिच्ने प्रपञ्चसाथ नेपाली भूमिसमेत गाभेर उसको नक्सा प्रकाशित गरेको भन्दै राजधानी काठमाडौं सहित विभिन्न स्थानमा प्रदर्शन भएको छ ।
दार्चुलामा पनि प्रदर्शन
त्यस्तो प्रदर्शन दार्चुलाको सदरमुकाम खलंगामा पनि भएको र प्रदर्शनमा संलग्न विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
दार्चुलाका प्रजिअ यदु पौडेलले भने, “विद्यार्थीहरूले दिएको ज्ञापनपत्र मैले सिंहदरबार पठाइसकें ।” प्रजिअ पौडेलले २० कात्तिकमा दार्चुलाका राजनीतिक दलको नेतृत्वसँग उक्त सीमा समस्याबारे छलफल गरिएको पनि जानकारी दिए ।