कलाकार राष्ट्रका जागरुक र महत्वपूर्ण प्रतिनिधि पात्र: राष्ट्रपति भण्डारी
– प्रणय साह
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार वीरगञ्जमा नेपाली चलचित्र महोत्सवको उद्घाटन गरेकी छन् ।
महोत्सव उद्घाटनको क्रममा राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको बताइन् ।
वीरगञ्ज स्थित आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएकाले यसमा समय सापेक्ष तालिम र शिक्षा दिंदै भौतिक पूर्वधारको विकास गर्दै जानुपर्ने बताइन् ।
कलाकारहरू राष्ट्रका जागरुक तथा महत्वपूर्ण प्रतिनिधि पात्र भएकाले समाजिक सहिष्णुता, शान्ति प्रवर्धन, पर्यटन विकास, पर्यावरणीय सन्तुलन र आर्थिक समृद्धिका सन्देशदूत बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
उक्त समारोहमा नेपाली चलचित्र स्वर्णिम सम्मानले प्रथम चलचित्र छायाकार वैकुण्ठ मास्के, प्रथम चलचित्र सम्पादक तीर्थलाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानित गरेकी थिइन् ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सूचना तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको सहभागिता रहेको थियो ।
नेपाल चलचित्र निर्माता संघको आयोजनामा आजदेखि शुरु भएको महोत्सव शनिबार सम्पन्न हुनेछ । महोत्सवमा प्रस्तुति दिन बलिउड सुपरस्टार गोविन्दा आहुजा वीरगञ्ज आएका छन् ।