“बलियो नेपालको काम विवादित बनेपछि संस्थाबाट अलग्गिएँ”– डा. उप्रेती
पोषणविद् डा.अरुणा उप्रेतीले बलियो नेपाल नामक संस्थाबाट अलग्गिएको बताएकी छन् ।
हिमालखबरसँग कुरा गर्दै उप्रेतीले आफूले १४ कात्तिकमा नै संस्थाबाट अलग्गिने निर्णय गरेर इमेलमार्फत बलियो नेपाललाई जानकारी गराएको बताएकी हुन् ।
उनले बलियो नेपालले पोषणका क्षेत्रमा गर्ने भनिएको कार्यक्रम विवादित बनेपछि आफूले संस्थाबाट अलग्गिने निर्णय गरेको बताइन् ।
डा. उप्रेतीले भनिन्, “संस्थाको विवादित कामका बारेमा हिमालखबर पत्रिका र भारतको द वायर अनलाइन समाचार पत्रिकामा उक्त विषय प्रकाशित भयो । त्यसपछि धेरै ठाउँबाट फोन आयो । त्यसपछि मैले संस्थाबाट अलग्गिने निर्णय गरेकी हुँ ।”
उनले बलियो नेपालमा सल्लाहकार पदमा रहेर काम गरेकी थिइन् ।
त्यस क्रममा उनले बलियो नेपालले आयोजना पोषणसम्बन्धी कार्यक्रममा सल्लाह दिने र कार्यक्रममा सहभागी पनि हुने गरेकी थिइन् ।
उनलाई संस्थाले बालबालिकाको स्वास्थ्य र खासगरी कुपोषण रोकथाम गर्ने काम गर्न लागेको र त्यसमा सल्लाहकारको रूपमा काम गर्न प्रस्ताव गरेको थियो । “राम्रै काम होला भनेर मैले उहाँहरूको प्रस्तावमा सहमति जनाएँ,” उनी भन्छिन् ।
बलियो नेपालले संस्था कुपोषणका क्षेत्रमा काम गर्न भनेर विदेशबाट कुन माध्यमबाट रकम ल्याएको भन्ने बारेमा पनि उनले यसअघि जानकारी नपाएको बताइन् ।
विवादित पोषण कार्यक्रमका बारेको जानकारी पाएपछि उप्रेतीले बलियो नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गराएको कार्यक्रम बहिष्कार गरेकी थिइन् ।
गएको १५ कात्तिकमा राष्ट्रपतिले विवादका बाबजुद उक्त कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
संस्थाले चाउचाउ जस्तो पत्रु खानामा पोषक तत्व राखेर बालबालिकालाई बाँड्न लागेको र त्यही काम गर्नका लागि चौधरी ग्रुपले अमेरिकाको गेट्स फाउन्डेसनबाट करीब रु. आठ करोड रकम समाज कल्याण परिषद्लाई थाहै नदिई नेपाल भित्र्याएको बारे हिमालले खुलासागरेको थियो ।
नेपालमा गैरसरकारी संस्थाले औपचारिक माध्यमबाट रकम भित्र्याउन समाजकल्याण परिषद्बाट रकम खुल्नेगरी स्वीकृति लिनुपर्छ ।
विवादास्पद कार्यक्रममा राष्ट्रपति, पोषणको नाममा पत्रु खानाको व्यापार