वीरगञ्जमा तीनदिने नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरु
–एस उपाध्याय\जियालाल साह
वीरगञ्जमा बिहीबारदेखि नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरु भएकाे छ । महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।
महोत्सवमा वीरगञ्जको घण्टाघरबाट विभिन्न जातजाति र समुदायका भेषभूषाको झाँकी सहितको र्याली निकालिएको थियो ।
वीरगन्जको घण्टाघरबाट निकालिएको र्याली माईस्थान, महावीरस्थान हुँदै आदर्शनगर स्थित कार्यक्रम स्थल रंगशालामा पुगेर समापन भएको थियो ।
तीन दिनसम्म चल्ने महोत्सवको समापन २३ कात्तिकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन् ।
आजको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकूल बाँसकोटा, मुख्यमन्त्री लालबाबु राउतको पनि उपस्थिति रहेको छ ।
बलिउडका चर्चित अभिनेता गोविन्दा लगायत नेपाली चलचित्रका चर्चित पुराना तथा नयाँ कलाकारहरूको सहभागिता रहेको छ ।
नेपाल चलचित्र निर्माता संघ, नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाली चलचित्र स्वर्णिम महोत्सव आयोजना गर्न लागेको हो ।
हिमाल, पहाड र तराईको संस्कृतिलाई जोड्ने र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सव आयोजनाका लागि प्रदेश २ को सरकार, पर्यटन प्रवद्र्धन समन्वय समिति र वीरगञ्ज महानगरपालिकाले पनि सहयोग गरेको नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष समेत रहेका संयोजक विमल पौडेलले जानकारी दिए ।
नेपाल चलचित्र निर्माता संघको आयोजनामा वीरगन्जमा संचालन भइरहेको तीनदिने नेपाली चलचित्र वीरगन्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी माईस्थान, महावीरस्थान हुँदै आदर्शनगर स्थित कार्यक्रम स्थल रंगशालामा पुगेर समापन भएको थियो ।
कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समाराेहका बीच उद्घाटन गरेकी छन्।