थप समाचारबुधबार, २० कार्तिक , २०७६

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अस्पतालबाट डिस्चार्ज

रासस

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

सर्भिस इन्स्टिच्यूड अफ मेडिकल साइन्स (सीआईएमएस)मा केही हप्तादेखि उपचार गराइरहेका सरिफलाई डिस्चार्ज गरेर आफ्नै निवास जाती उमरा पठाइएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उनलाई गत अक्टोबर २२ तारिखका दिन अस्पताल भर्ना गरिएको थियो । उनको रगतमा समस्या रहेको चिकित्सकहरूले जानकारी दिएका छन् ।

सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगका प्रवक्ता मारियम औराङजेबले जारी गरेको वक्तव्यका अनुसार सरिफको निजी निवासमा अति सघन कक्ष (आईसीयू) को व्यवस्था गरेर उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनले सरिफका लागि घरमै चिकित्सकको समेत व्यवस्था गरिएको तर भेटघाट गर्न भने नदिइने भएको पनि जानकारी दिए ।

रोग थप बढ्न र बल्झिन सक्ने सम्भावना भएकाले चिकित्सकहरूको विशेष टोली नै बनाएर खटाइएको र अरूलाई भने भेट्न नदिइने व्यवस्था गरिएको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रवक्ता औराङबेजले बताए ।

भ्रष्टाचार गरेको ठहरसहित अदालतको आदेशमा कारागारमा रहेका सरिफलाई स्वास्थ्य स्थिति गम्भीर भएपछि उपचार प्रयोजनका लागि अस्पताल लगिएको थियो ।

अस्पताल लगिएको केही दिनपछि गत अक्टोबर २९ तारिखका दिन इस्लामाबादको उच्च अदालतले सरिफलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रतिकृया दिनुहोस