कास्कीमा कांग्रेसको उम्मेद्वार खेमराज पौडेल, अन्यत्रकाे टुंग्याउन बाँकी
प्रतिनिधिसभाको उपनिर्वाचन हुने कास्की–२, मा नेपाली कांग्रेसले खेमराज पौडेललाई उम्मेद्वार बनाउने भएको छ । पौडेललाई सभापति शेरबहादुर देउवाले नै टिकट दिएर पठाएका हुन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, सभापति देउवाले अन्य नेताहरुसँग छलफल गरेर पौडेललाई टिकट दिएका हुन् । प्रवक्ता शर्माले भने, “खेमराज पौडेल बीपी कोइरालाबाटै दीक्षित निष्ठावान नेता हुन् ।”
पौडेल टिकट लिएर कास्की गइसकेका छन् । २१ कात्तिकमा मनोनयन दर्ता गराउनुपर्ने भएकाले उनी कास्की गइसकेका छन् । कास्की कांग्रेसले उम्मेद्वारीका लागि आकांक्षी १६ जनाको नाम केन्द्रीय कार्यालयमा पठाएको थियो ।
कांग्रेसले अन्य ठाउँको भने अझै उम्मेद्वार टुंग्याउन सकेको छैन । प्रदेशसभाका लागि भक्तपुर, दाङ र बाग्लुङमा उपनिर्वाचन हुँदैछ ।
धरान उपमहानरपालिकाको मेयरका लागि भने तिलक राईको नाम सर्वसहमत रुपमा आएकाले टिकट दिने निर्णय भइसकेको छ ।