महराले गम्भीर गल्ती गरे, उचित कार्बाही हुनुपर्छः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णबहादुर महराबारे पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
प्रेस संगठन नेपाल दाङले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरेको बताए । दाहालले भने, “महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गर्नुभयो । अब कानूनी रुपमा उचित कार्बाही हुनुपर्छ ।”
दाहालले महरालाई यसबारे नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा र आफैंले सोध्दा पनि ढाँटेको बताए ।
“नैतिक रुपमा गल्ती गरिसकेपछि अध्यक्षलाई नै ढाँटेर अर्को गल्ती गर्नुभयो । पहिले सबै कुरा अस्वीकार गर्नु भयो । प्रमाणित भएपछि स्वीकार गर्नुभयो”, उनले भने ।