समाचारमंगलबार, १९ कार्तिक , २०७६

बाँदर मार्न बोकेको बन्दुक पड्किएर एकको मृत्यु

रासस

ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।

सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए।

उपचारका लागि काठमाडौं लैजाने क्रममा सिन्धुलीको खुर्कोटमा पुगेपछि घाइते तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

अन्य चार जना २२ वर्षीय सविन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय २२ का रुकमान तामाङ फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीले स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनास्थलबाट एक थान लोड भएको अवस्थामा र एक थान पड्किएको अवस्थामा भरुवा बन्दुकसमेत बरामद भएको छ ।

प्रतिकृया दिनुहोस