समाचार मंगलबार, कात्तिक १९, २०७६

सुकुटे दुर्घटनाका मृतकको अन्त्येष्टि, अरनिकोले क्षतिपूर्ति दिएन

हिमालखबर

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई शैलुङ गाउँपालिकाले प्रतिपरिवार २० हजार रुपैयाँ दाहसंस्कार खर्च दिने भएको छ ।

गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालले मृतकका परिवारलाई तत्कालका लागि गाउँपालिका तर्फबाट राहतस्वरुप सो रकम दिने निर्णय गरिएको जानकारी दिए ।

सुकुटेमा आइतबार भएको दुर्घटनामा १८ जनाको शव आफन्तले शव बुझेका छन् भने एक बालिका बेपत्ता भएकी थिइन् ।

मृतकका आफन्तलाई अरनिको यातायात सेवा समितिले प्रतिपरिवार कम्तीमा पनि २ लाख रुपैयाँ दिनुपर्ने माग गाउँपालिकाको सहजीकरणमा छलफल भए पनि समितिले ४० हजारभन्दा दिन नसकिने बताएपछि छलफल निष्कर्ष विहीन भएको हो ।

प्रहरी र शैलुङ गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र घाइते तथा मृतकका आफन्तलगायतको उपस्थितिमा भएको छलफलले अरनिकोबाट क्षतिपूर्ति दिलाइदिन प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि शव आफन्तले जिम्मा लिएको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिए ।

मंगलबार शव बुझेर आफन्तले अन्त्येष्टि पनि गरेका छन् । ७ जनाको भोटेकोशीमा सामूहिक अन्त्येष्टि गरियो भने अन्य मृतकका आफन्तले काठमाडौंमै आ–आफ्नो परम्परा अनुसार अन्त्येष्टि गरेका छन् ।

दुर्घटनाका केही घाइतेहरुको काठमाडौंको नर्भिक तथा अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने केहीको धुलिखेलमा पनि उपचार जारी रहेको अध्यक्ष दुलाले बताए ।

अरनिको यातायातको सिण्डिकेट विरुद्ध आन्दोलन जारी रहने शैलुङबासीले जनाएका छन् । ३४ जना सीट क्षमताको बसमा ७४ जना राखेको र गाडी पनि तीव्रगतिमा भएका कारण दुर्घटना भएकाले अरनिको यातायात र चालकको लापरबाही भएको घाइतेहरुले बताएका छन् ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदो गरेको बा २ ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा सडकबाट सुनकोशी नदीमा खसेको थियो ।

बसमा शैलुङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का रहेकाले गाउँपालिका शोकमा डुबेको छ ।

प्रतिकृया दिनुहोस