भारतमा सरकारी कार्यालयभित्रै महिला अधिकारीलाई जिउँदै जलाइयो
भारतको दक्षिणी राज्य तेलङ्गानामा सम्पत्ति सम्बन्धीमा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको छ ।
विजया रेड्डी नामक ती महिला अधिकारीलाई सरकारी कार्यालयभित्र सोमवार जिउँदै जलाएर हत्या गरिएको छ ।
उनलाई जोगाउन खोज्ने एक अर्का पुरुष कर्मचारीको पनि मङ्गलबार उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीले शंकास्पद आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
सोमवार दिउँसो अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो।
उनकै कार्यालयमा भेट्न आएका के सुरेश नाम गरेका व्यक्तिले आक्रमण गरेको प्रहरीको भनाइ छ।
रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए।
घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ। –बीबीसी