चीन भ्रमणमा जाने नेपालीका लागि अब एनआईबीएल युनियनपे कार्ड
चीन भ्रमणमा जाने नेपाली र नेपाल आउने चिनियाँका लागि एनआईबीएल युनियनपे कार्ड सञ्चालनमा आउने भएको छ ।
यसका लागि नेपाल इन्भेष्टमेण्ट ब्यांक र युनियनपे अन्तर्राष्ट्रिय कम्पनीबीच सहमति भएको छ । नेपाल भ्रमणमा आउने चिनियाँ र चीन भ्रमणमा जाने नेपालीलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याउन लागिएको इन्भेष्टमेन्ट ब्यांकले जनाएको छ।
ब्यांकले युनियनपे डेविट, क्रेडिट, र प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदै आएको छ भने क्यूआर कोड मार्फत पनि भुक्तानी शुरु गर्न लागिएको ब्यांकले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट युनियनपे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।
इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नेपाल सरकारद्धारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियनपे अन्तर्राष्ट्रिय कम्पनी लिसँग सहकार्य शुरु गरिएको बताए ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा चीनबाट डेढ लाख चिनियाँ नेपाल भ्रमणमा आएका थिए भने भ्रमण वर्ष २०२० मा तीन लाख आउने अपेक्षा गरिएको छ ।